गलकोटः  भोटेकोशी नदीमा आएको हिमबाढीमा बागलुङका १६ जना अझै बेपत्ता छन् । भदौ १० गते आएको बाढीमा आफ्ना आफन्त गुमाएका परिवारले उनीहरू सकुशल भेटिने आशा अझै मारेका छैनन् । कामको सिलसिलामा भोटेकोशीको तटीय क्षेत्रमा पुगेका आफन्तको अवस्था अज्ञात भएपछि परिवारजन उनीहरू फर्किने पर्खाइमा छन् ।

बाढीमा परी रसुवास्थित त्रिशूली हाइड्रोपावर, हाकुबेंसीमा काम गर्न गएका तमानखोला गाउँपालिकाका नौ जना, ढोरपाटन नगरपालिकाका दुई जना, गलकोट नगरपालिकाका एक जना तथा नुवाकोटस्थित त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत बागलुङ नगरपालिकाका दुई इन्जिनियर र दुई बालबालिका गरी १६ जना बेपत्ता भएका हुन् ।

बेपत्ता भएकामध्ये अधिकांशको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको स्थानीय तहले जनाएको छ । परिवारको मुख्य आम्दानी गर्ने व्यक्ति नै बेपत्ता भएपछि उनीहरूका आश्रित परिवारको दैनिकी थप संकटमा परेको छ ।

तमानखोला गाउँपालिकाका नौ जना नागरिकको खोजीका लागि गाउँपालिका अध्यक्ष जोकलाल बुढासहितको टोली भोटेकोशी क्षेत्रमा पुगेको छ । सुरुङ तथा बाढी प्रभावित सम्भावित क्षेत्रमा खोजी कार्य भइरहेको अध्यक्ष बुढाले बताए । उनका अनुसार आफ्ना नागरिक अहिलेसम्म सम्पर्कमा नआए पनि उद्धार तथा खोजी कार्य नसकिएसम्म सकुशल भेटिने आशा कायमै छ ।यो खबर आजको गोरखापत्र दैनिकबाट लिइएको हो ।