इटहरीःः भोटेकोशी बाढीमा सुरक्षाकर्मी, निजामती कर्मचारी, जनप्रतिनिधि र शिक्षकसहित करिब डेढ सय राष्ट्रसेवक सम्पर्कविहीन छन् । नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्रका १२ जना हराएका छन् ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायसँग समन्वय गरेर कर्मचारीतर्फ हराएकाहरूको विवरण तयार गरेको छ । मन्त्रालयको प्रारम्भिक तथ्यांकअनुसार निजामती कर्मचारी, जनप्रतिनिधि र विद्यालय कर्मचारी गरेर ६६ जना हराएका छन् ।
सबैभन्दा धेरै हराउनेमा स्थानीय तहका कर्मचारी छन् । रसुवाको गोसाईँकुण्ड र उत्तरगया गाउँपालिकाका १९ जना कर्मचारी हराएका छन् । रसुवागढी भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारी पनि सम्पर्कविहीन छन् । त्यस्तै, शिक्षक र विद्यालय कर्मचारी गरी १४ जना सम्पर्कमा छैनन् । एकजना पालिका उपप्रमुखसहित आठजना जनप्रतिनिधि पनि हराएको सूचीमा छन् । रसुवागढीस्थित अध्यागमन कार्यालयका चार, लाङटाङ राष्ट्रिय निकुञ्जमा कार्यरत तीन र रसुवागढी प्लान्ट क्वारेन्टिनका तीन कर्मचारी पनि सम्पर्कविहीन छन् । केही कर्मचारीको मृत्यु सनाखत भइसकेको मन्त्रालयका उपसचिव दीपक ढकालको भनाइ छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार साँझ फेसबुकमा सम्पर्कविहीन सुरक्षाकर्मीको संख्या सार्वजनिक गरेका छन् । बाढीमा बेपत्ता भएका ८६ सुरक्षाकर्मीमध्ये ८२ जनाको अवस्था अझै अज्ञात छ । चारजनाको भने शव भेटिएको छ । १० भदौको बाढीपछि रसुवामा खटिएका सेनाका ४५, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सम्पर्कविहिन भएका थिए ।
नेपाल प्रहरीका तीन र सशस्त्रका एक कर्मचारीको शव भेटिएको छ । अन्यको अवस्था अझै अज्ञात छ । हराएका ४५ कर्मचारीकै खोजी भइरहेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए । सेनाका लप्टनसहितका अधिकारी सम्पर्कविहिन छन् । त्यस्तै, नेपाल प्रहरीको रसुवाका विभिन्न कार्यालय र बेत्रावत्रीबाट तथा सशस्त्रको टिमुरे र स्याफ्रुबेसीमा कार्यरत कर्मचारी बाढीपछि सम्पर्कविहीन भएका हुन् । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।




















