इटहरीः त्रिशूली–भोटेकोशी नदीमा आएको बाढीले पुरिएका जलविद्युत् आयोजनाका सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी तथा उद्धार जारी रहने भएको छ । १० भदौमा आएको बाढीले जलविद्युत् परियोजनामा कार्यरत कर्मचारी, प्राविधिक तथा इन्जिनियरलाई बेपत्ता बनाएको छ ।


आयोजनाका आवास र बाँध क्षेत्रमा रहेका व्यक्ति बाढीमा परेको अनुमान छ । सुरुङभित्र रहेका व्यक्तिको भने उद्धार तथा खोजी जारी छ । टनेलमा भरिएको लेदो, ढुंगा तथा माटो पन्छिएको भाग वारपार नभएसम्म उद्धार जारी राख्ने निष्कर्षमा सेना पुगेको हो । हालसम्म माथिल्लो त्रिशूली– ३ ‘ए’बाट दुई र माथिल्लो त्रिशूली– १ बाट एकजनाको जीवितै उद्धार गरिएको छ । त्यसबाहेक विभिन्न परियोजनाबाट केही शव संकलन भएका छन् ।


नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले सुरुङ ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धार जारी हुने बताए । ‘सरकारको निर्देशनबमोजिम हामी उद्धारमा सक्रिय छौँ । टनेल ब्रेक थ्रु नभएसम्म निरन्तरता दिन्छौँ,’ उनले भने । सेनाले सोमबार राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै रेस्क्युबाट रिकभरी चरणमा प्रवेश गरी परियोजना वा सम्बन्धितले अगुवाइ नलिएसम्म खोजी जारी रहने बताएको छ । ‘जबसम्म सम्पूर्ण टनेल ब्रेक थ्रु हुँदैन, त्यतिवेलासम्म जारी नै हुन्छ । सरकारले नै नगर्ने निर्णय गर्छ अथवा प्राधिकरणले नै यसमा पुग्यो भन्छ भने फरक कुरा हो,’ पत्रकार सम्मेलनमा सहायक रथी सुवासजंग थापाले भने, ‘हाम्रो खोजी जारी छ । हाम्रो आशा अहिलेसम्म पनि मरेको छैन ।’ 


जलविद्युत्का नौ सय कर्मचारी सम्पर्कविहीन, सुरुङमा १२१ जना फसेको दाबी 

परियोजना प्रवद्र्धकले सुरुङमा पाँच सयभन्दा बढी फसेको बताइरहँदा सेनाले भने करिब १२१ जना फसेको विवरण सार्वजनिक गरेको छ । पत्रकार सम्मेलनमा सहायक रथी सुवासजंग थापाले जलविद्युत्का नौ सयभन्दा बढी व्यक्ति बेपत्ता भए पनि सुरुङभित्र १२१ जना फसेको बताए । ‘जलविद्युत्का नौ सयजना भन्दा बढी सम्पर्कविहीन भए पनि सुरुङभित्र करिब १२१ जना फसेको अनुमान छ,’ उनले भने । 


१११ मेगावाटको रसुवागढीमा पाँच, २० मेगावाटको लाङटाङमा सात, २२ मेगावाटको चिलिमेमा सात, २१६ मेगावाटको माथिल्लो त्रिशूली– १ मा ५० जना सुरुङभित्र फसेको सेनाको भनाइ छ । यस्तै, माथिल्लो त्रिशूली– ३ ‘ए’ र माथिल्लो त्रिशूली– ३ ‘बी’मा पनि केही संख्यामा सुरुङभित्र फसेको हुन सक्ने सेनाको भनाइ छ । 


सेनाका प्रवक्ता राजाराम बस्नेतले परियोजनासँगको छलफलपछि नै १२१ जना सुरुङभित्र परेको आकलन गरेको बताए । ‘यति नै छन् भनेर ठोकुवा गरेको होइन । परियोजनाका अधिकारीहरूसँग छलफलपछि यस्तो आकलन गरिएको हो,’ उनले भने । 


यता स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल ९इप्पान०ले पनि सुरुङभित्र रहेका भनिएका कर्मचारी भागेर बाहिर निस्केको हुन सक्ने बताएको छ । त्यसमा अधिकांश बाढीमा परेको हुन सक्ने इप्पानको भनाइ छ । इप्पानका प्रमुख कार्यकारी अधिकृत भीम गौतमले उद्धारका क्रममा तथ्यांक अद्यावधिक भएको बताए । 


सोमबार कुन सुरुङमा के भयो ?  

सेनाले सोमबार पनि विभिन्न सुरुङमा खोजीकार्य जारी रहेको बताएको छ । रसुवागढी जलविद्युत् आयोजनामा पावरहाउस र कन्ट्रोल पोइन्टमा खोजीकार्य भएको सेनाको भनाइ छ । यस्तै लाङटाङ जलविद्युत् आयोजनामा संयुक्त उद्धार टोलीद्वारा खोज तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ । 


चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले मिनी एक्स्काभेटर तथा अन्य उपकरण एसेम्बल गरी खोज तथा उद्धार कार्यमा प्रयोग गरिएको सेनाको भनाइ छ । यस्तै, माथिल्लो त्रिशूली– १ मा सुरुङको चार सय मिटरभित्रसम्म पुग्दा पनि केही फेला नपरेको सेनाको भनाइ छ ।


माथिल्लो त्रिशूली– ३ ‘ए’को पावरहाउस तथा टनेलमा सेना र आयोजनाका प्रतिनिधिको संयुक्त टोलीले खोज तथा उद्धार कार्य गरिरहेको सेनाको भनाइ छ । माथिल्लो त्रिशूली– ३ ‘बी’मा पनि खोजी जारी रहेको सेनाको बताएको छ । ‘त्रिशूली– ३ ‘बी’मा संयुक्त टोलीले थ्री एक्स बोडकाट प्रयोग गरी आयोजनाको कार्यालय तथा आवास गृह इलाकामा करिब १० फिट गहिराइसम्म खन्दा कुनै पनि भौतिक संरचना फेला नपरेको सेनाले बताएको छ । यहाँ थप चारवटा एक्स्काभेटर प्रयोग गरी खोजी भइरहेको पनि सेनाको सूचनामा उल्लेख छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।