इटहरीः इलाका प्रहरी कार्यालय इटहरीको हिरासतमा रहेका दुई बालिकामाथि यौन दुरुव्यवहार गरेको आरोपमा पक्राउ परेका इटहरी–४ बगैंचा टोलका ६८ वर्षीय गोपाल कार्कीको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ।

पूर्वप्रहरी हवल्दारसमेत रहेका कार्कीलाई बाल यौन दुरुव्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले भदौ ४ गते पक्राउ गरेको थियो। पीडित बालिकाका अभिभावकहरूले संयुक्त रूपमा किटानी जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय इटहरीले सरकारी वकिलको कार्यालयमार्फत म्याद थप गरी कार्कीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको थियो।

प्रहरी हिरासतमा रहेका कार्की मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए। त्यसपछि तत्काल उपचारका लागि उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो।

प्रतिष्ठान पुर्‍याएलगत्तै बिहान करिब ४ बजे चिकित्सकले कार्कीलाई मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार कार्कीको उपचारका क्रममा मृत्यु भएको हो। उनको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ।

पोस्टमार्टम तथा थप अनुसन्धानपछि मात्रै कार्कीको मृत्युको यकिन कारण खुल्ने प्रहरीको भनाइ छ।

यसैबीच, परिवारले कार्कीको शव बुझेर मंगलबार दिउँसो नै इटहरीस्थित बूढीगंगा–जमुना मुक्ति घाटमा अन्तिम संस्कार गरेको जनाइएको छ।