इटहरीः समाजसेवी तथा लायन्सकर्मी इटहरी–५ निवासी राजेन्द्र घिमिरेको धरानमा भएको सवारी दुर्घटनामा परी मंगलबार साँझ मृत्यु भएको छ।


इटहरीबाट धरान जाने क्रममा धरानको लाङ्घाली चोकबाट केही माथि घिमिरेले चलाएको मोटरसाइकल सिटी रिक्सामा ठोक्किएको थियो। दुर्घटनामा मोटरसाइकलबाट सडकमा खसेका घिमिरेको टाउकाको पछाडिको भागमा गम्भीर चोट लागेको थियो।


दुर्घटनापछि स्थानीयको सहयोगमा उनलाई तत्काल उपचारका लागि नजिकै रहेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा पुर्‍याइएको थियो। गम्भीर घाइते घिमिरेलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने भए पनि प्रतिष्ठानमा आईसीयू खाली नभएपछि थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो।


तर, विराट नर्सिङ होमको आकस्मिक कक्षमै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।


भारतीय सेनाबाट अवकाश पाएपछि सामाजिक कार्यमा सक्रिय घिमिरे लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीका प्रोफेसनल अफिसरका रूपमा कार्यरत थिए।

eb62f644-5cb0-447e-bacc-fbc37ed0a85a


घिमिरेका साथी तथा इटहरीका व्यवसायी केदार उप्रेतीका अनुसार सामाजिक सेवामा अत्यन्त सक्रिय घिमिरेको निधनले इटहरीले एक असल सामाजिक अभियन्ता गुमाएको छ।


“सामाजिक सेवा भन्नासाथ मरिहत्ते गरेर लाग्ने घिमिरेको निधनले हामीले एक असल सामाजिक अभियन्ता तथा मित्र गुमाएका छौँ,” उप्रेतीले भने।


घिमिरेको शव पोस्टमार्टमका लागि राखिएको र आफू इटहरी फर्किसकेको उप्रेतीले बताए। उनका अनुसार बुधबार बिहान पोस्टमार्टमपछि शव परिवारको जिम्मा लगाइनेछ। बुधबार दिउँसो इटहरीस्थित बूढीगंगा मुक्ति जमुना घाटमा उनको अन्तिम संस्कार गरिनेछ।


घिमिरे लायन्स क्लबमा आबद्ध हुनुका साथै इटहरी–५ स्थित नवदुर्गा भवानी मन्दिरका उपाध्यक्ष, महेन्द्रनगर इटहरी समाजका सचिव तथा नवदुर्गा टोल विकास समितिका उपाध्यक्षको जिम्मेवारीमा समेत थिए।


सामाजिक कार्यमा सक्रिय घिमिरे मंगलबार पनि सामाजिक सेवाकै सिलसिलामा धरान जाने क्रममा सवारी दुर्घटनामा परेका थिए।