धरानः श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले धरानका पत्रकार तथा थुम्कि अनलाइनका सञ्चालक नवीन राई (प्रवेश)लाई लक्षित गर्दै सामाजिक सञ्जालमार्फत आपत्तिजनक उपनाम प्रयोग गरेका छन्।
साम्पाङले आफ्नो आलोचना गर्ने पत्रकार राईले आफूलाई ‘साह्रै धेरै खुट्टा तानेको’ भन्दै उनको नामसमेत सार्वजनिक गर्न आफू बाध्य भएको उल्लेख गरेका छन्। उनले राईलाई अबदेखि ‘गुइँठे’ भनेर सम्बोधन गर्न आफ्ना समर्थकलाई आग्रहसमेत गरेका छन्।
साम्पाङले लेखेका छन्, ‘साह्रै धेरै मेरो खुट्टा तानेको कारण मैले यो पत्रकारको नाम पनि राखिदिन बाध्य भएँ आज उप्रान्त यी महोदयलाई “गुइँठे” भनेर सबैले सप्रेम मायाले बोलाउनु होला ’
साम्पाङको उक्त अभिव्यक्तिपछि पत्रकारलाई लक्षित गरी राजनीतिक नेतृत्वबाट प्रयोग गरिएको भाषालाई लिएर सामाजिक सञ्जालमा बहस सुरु भएको छ। आलोचकप्रति असहमति जनाउने क्रममा व्यक्तिगत उपनाम राखेर सम्बोधन गर्नु उचित नभएको भन्दै कतिपयले प्रश्न उठाएका छन्।
साम्पाङ र धरानका सञ्चारकर्मीबीच यसअघि पनि विभिन्न विषयमा सार्वजनिक रूपमा मतभेद देखिँदै आएका छन्। साम्पाङको कार्यशैली तथा निर्णयको आलोचना गर्ने सञ्चारकर्मीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा हुने टिप्पणीका कारण धरानमा पत्रकारिता र राजनीतिक नेतृत्वबीचको सम्बन्धबारे बेलाबेलामा बहस हुँदै आएको छ।

यसैबीच, साम्पाङ र उनका समर्थकबाट आलोचकलाई लक्षित गरी हुने अभिव्यक्ति तथा दबाबका कारण पत्रकार गोपाल दाहाल धरानबाट विस्थापित हुनुपरेको पुरानो प्रसंगसमेत पुनः चर्चामा आएको छ।
पत्रकार दाहालले विगतमा आफूलाई साम्पाङ र उनका समर्थकबाट धम्की तथा दबाब आएको दाबी गर्दै धरान छाड्नुपरेको बताउँदै आएका छन्।
पत्रकारमाथि राजनीतिक नेतृत्व वा समर्थकबाट धम्की, दबाब अथवा दुर्व्यवहार हुने अवस्था लोकतान्त्रिक समाज र स्वतन्त्र पत्रकारिताका लागि गम्भीर विषय मानिन्छ। आलोचना र असहमतिलाई तथ्य तथा तर्कका आधारमा जवाफ दिनुपर्नेमा व्यक्तिगत रूपमा लक्षित गर्ने, उपनाम राख्ने वा समर्थकमार्फत दबाब सिर्जना गर्ने प्रवृत्तिले पत्रकारको स्वतन्त्रतामाथि असर पार्न सक्ने सञ्चार क्षेत्रका जानकारहरूको धारणा छ।
हालै नवीन राईलाई लक्षित गर्दै साम्पाङले प्रयोग गरेको ‘गुइँठे’ उपनाम पनि यही सन्दर्भमा चर्चामा आएको हो। साम्पाङले भने आफूविरुद्ध निरन्तर आलोचना र ‘खुट्टा तान्ने’ गतिविधि भएकाले उक्त अभिव्यक्ति दिएको संकेत गरेका छन्। यसअघि छोकी सुभत नाम गरेकी एक किशोरीलाई पनि साम्पाङले माउसुली उपनाम दिएका थिए ।




















