इनरुवाः मनमोहन स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
इनरुवा–१ स्थित खेलमैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ८३ रनले पराजित गर्दै आर्मीले उपाधिमाथि कब्जा जमाएको हो । इनरुवा नगरपालिका र शान्तिदीप नेपाल सुनसरीको संयुक्त आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
विजेता टोली त्रिभुवन आर्मीले ४ लाख १ हजार रुपैयाँसहित ट्रफी हात पारेको छ । पुलिसले उपविजेतामा चित्त बुझाउँदै २ लाख १ हजार प्राप्त गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विजेता र उपविजेता टोलीलाई पुरस्कार प्रदान गरेका थिए ।
जीतका लागि २ सय ५० रनको लक्ष्य दिएको आर्मीले नेपाल पुलिस क्लबलाई १ सय ६६ रनमा अलआउट पार्दै उपाधि हात पारेको थियो । आयोजक शन्तिदीप नेपालका अध्यक्ष सुवास राईका अनुसार टस जितेर पहिलो ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरको खेलमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो ।
आर्मीका लागि राजेश पुलामीले अर्धशतकीय पारी खेल्दा कुशल मल्ल भने अर्धशतक बनाउनबाट १ रनले चुकेका थिए । टोलीका लागि पुलामीले ६९ रन बनाउँदा मल्लले ४९ रन बनाएका थिए । पुलिसका दीपेश श्रेष्ठले ३ तथा रामनरेश गिरीले २ विकेट लिएका थिए ।
४२ दशमलव ५ ओभरमा अलआउट भएको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले ५१ रन जोडे पनि टोलीलाई हारको मुखबाट जोगाउन सकेनन् । पुलिसका हिमांशु दत्तले २९ र अमित श्रेष्ठले २५ रनको पारी खेलेका थिए । पुलिसलाई सस्तैमा समेट्दै टोलीका लागि जीत दिलाउन आर्मीका सहाब आलम र कुशल मल्लले समान ३–३ विकेट लिएका थिए । फाइनल खेलको ‘म्यान अफ दी म्याच’ आर्मीका कुशल मल्ल र अनुशासित टोली सुदूर पश्चिम प्रदेश बन्न सफल भए ।
बेस्ट बलर पुलिसका सागर ढकाल घोषित भएको प्रतियोगिताको बेष्ट ब्याट्सम्यान आर्मीका भीम सार्की बनेका छन् । प्रतियोगिताभर उत्कृष्ट खेल प्रदर्शन गरेका पुलिसका दिलीप नाथ ‘म्यान अफ दी सिरिज’ भएका छन् । उनले नगद ५१ हजार हात पारे ।
पुस २१ गतेदेखि शुरु सो प्रतियोगितामा ७ प्रदेश, तीन विभागीय, एक भारतीय र एक आयोजक गरी १२ टोली सहभागी रहेका थिए ।