काठमाडौः हालैको बाढीका कारण त्रिशूली–मुग्लिन करिडोरमा क्षतिग्रस्त भएका २० वटा झोलुङ्गे पुलमध्ये ६ वटाको मर्मत कार्य आगामी १० दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित सरकारले निर्माण कार्यलाई तीव्र बनाएको छ। बाढीले पुलका फलामे लठ्ठाहरू सुरक्षित राखे तापनि मानिस हिँड्ने भाग (डेक) भने बगाएको थियो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागका प्राविधिकहरूलाई हाल कार्यक्षेत्रमै खटाएर पुलको फलामे लठ्ठा तान्ने तथा व्यवस्थापन गर्ने कार्य भइरहेको छ।

नयाँ डेक खरिदका लागि गत भदौ २२ गते नै विभिन्न निर्माण कम्पनीहरूसँग सम्झौता भइसकेको छ। सम्झौताअनुरूप ती कम्पनीहरूले आगामी १० दिनभित्र डेक उत्पादन गरी सरकारलाई हस्तान्तरण गर्नेछन्।यसैगरी, प्रभावित क्षेत्रमा क्षति पुगेका बाँकी १४ वटा झोलुङ्गे पुललाई पनि आगामी एक महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने गरी मर्मत कार्य अगाडि बढाइएको छ।
३३ पुलको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वानयसबाहेक उक्त करिडोरमा अत्यधिक क्षति पुगेका थप ३३ वटा झोलुङ्गे पुलको भने नयाँ शिराबाट पुनःनिर्माण नै गर्नुपर्ने अवस्था छ।

पुनःनिर्माणका लागि आवश्यक पर्ने फलामे लठ्ठा, ुबुलडग ग्रिप्सु लगायतका सामग्री खरिद गर्न सरकारले अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिसकेको छ। उक्त बोलपत्र आगामी असोज ५ गते खोलिने तय भएको छ।सरकारले तयार पारेको ुद्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन प्रतिवेदनु अनुसार, बाढी आउनुपूर्व रसुवादेखि मुग्लिनसम्मको प्रभावित क्षेत्रमा कुल ६४ वटा झोलुङ्गे पुलहरू सञ्चालनमा रहेका थिए। तीमध्ये ५३ वटा पुलमा बाढीले गम्भीर क्षति पुर्याएको छ।





















