इटहरीः युवा, श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्मा आबद्ध युवाहरूले भोटेकोशी नदीमा आएको बाढी पश्चात् धादिङ र रसुवाका प्रभावित क्षेत्रहरूमा स्थानीय समुदायमा राहत, घर तथा सार्वजनिक स्थलको सरसफाइ र प्रभावित नागरिकहरूलाई मनोसामाजिक परामर्श दिएका छन्।
धादिङको गजुरी–जरेखेतस्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेशन, गजुरी गाउँपालिका वडा नं. ५ का होल्डिङ सेन्टर तथा स्थानीय बासिन्दाका घरहरूमा जमेको लेदो माटो सफा गर्ने कार्य सुरक्षाकर्मी र स्थानीयको सहकार्यमा गरिएको छ।
यसका साथै बालबालिका तथा महिलाहरूलाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ ।

रसुवाका होल्डिङ सेन्टरमा रहेका बालबालिकाको हेरचाह गरिएको छ। रसुवाको उत्तरगया गाउँपालिकाका विभिन्न होल्डिङ सेन्टरहरूमा आश्रित नागरिकका लागि खानेकुरा र आधारभूत सुविधाको व्यवस्था गरिएको छ।
भिमसेनस्थान होल्डिङ सेन्टरमा रहेका ५४ जना आश्रितमध्ये २ जना अभिभावकविहीन बालबालिका रहेका छन्। त्यहाँका बालबालिकाका लागि खेलकुद, चित्रकला र आर्ट थेरापीको सुविधा मिलाइएको छ ।
श्री शिवालय आधारभूत विद्यालयमा ४७ जना आश्रितमध्ये २४ जना बालबालिका रहेका छन्। केही बालबालिकाले सम्पूर्ण परिवार नै गुमाएकाले उनीहरूका लागि पनि खेलकुदको सुविधा मिलाइएको छ ।

नीलकण्ठ होल्डिङ सेन्टरमा ३८ जना आश्रितमध्ये करिब २५ जना बालबालिका तथा शिशुहरू रहेका छन्, जहाँ सामुदायिक भान्छा, विद्युत्/मोबाइल चार्जिङ र खेलकुदको व्यवस्था मिलाइएको छ।
परिवारका सदस्य गुमाएका वा बेपत्ता भएका कारण धेरै परिवारमा शोक, भविष्यको चिन्ता, दुःस्वप्न र तीव्र मानसिक तनाव देखिएको छ। उक्त समस्यालाई सम्बोधन गर्दै युवा परिषद्को टोलीले मनोसामाजिक परामर्श दिएको छ।




















