भक्तपुरः भक्तपुरका छुट्टाछुट्टै दुई स्थानबाट खाना पकाउने एलपी ग्यासमा कालोबजारी गरिरहेको अवस्थामा दुई जना पसल सञ्चालक पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाका आधारमा प्रहरी निरीक्षक हेम बहादुर थपलियाको कमाण्डमा खटिएको टोलीले बिहीबार साँझ सूर्यविनायक नगरपालिका–३ ब्रम्हनगर र भक्तपुर नगरपालिका–२ इटाछेमा अनुगमन गर्दा कालोबजारी भइरहेको फेला पारेको थियो ।

प्रहरीका अनुसार बिहीबार बेलुका करिब ५स्०० बजे सूर्यविनायक–३ ब्रम्हनगरस्थित ‘सर्लाही जनरल स्टोर’ बाट सर्लाही बरहथवा नगरपालिका–७ घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय उमेश शाह पक्राउ परेका छन् । शाहले आफ्नो किराना पसलबाट उपभोक्तालाई प्रतिसिलिण्डर २ हजार ८ सय रुपैयाँका दरले बढी मूल्य लिई ग्यास बिक्री गरिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनको पसलबाट ७५ थान भरिएका हिमाल ग्यासका सिलिण्डर समेत बरामद गरिएको छ ।

त्यस्तै, बिहीबारै साँझ ६स्३० बजे भक्तपुर–२ इटाछेबाट १४ वटा सगर ग्यासका सिलिण्डरसहित ४१ वर्षीय राजेश कर्मचार्यलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको प्रहरीले जनाएको छ ।