इटहरीः भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका १४ हजारभन्दा बढी बालबालिकाको पठनपाठन अवरुद्ध छ । शिक्षा मन्त्रालयका अनुसार तीन जिल्लाका ६३ विद्यालय बाढीबाट प्रभावित बनेका छन् । बाढीबाट अझै तीन सय ९६ विद्यार्थी र २१ शिक्षक बेपत्ता छन् । २० विद्यार्थी र दुई शिक्षकको भने शव फेला परेको छ ।


शिक्षा मन्त्रालयले स्थलगत अध्ययनपछि तयार पारेको शैक्षिक क्षतिसम्बन्धी प्रतिवेदनअनुसार ५० सामुदायिक, ११ निजी र दुईवटा धार्मिक विद्यालय प्रभावित बनेका छन् । यी विद्यालयमा १४ हजार ४५५ विद्यार्थी अध्ययनरत थिए । अधिकांश शैक्षिक संस्थामा पठनपाठन नियमित हुन सकेको छैन ।


बाढीले आठ सामुदायिक, तीन निजी र एक धार्मिक गरी १२ शैक्षिक संस्था पूर्ण रूपमा ध्वस्त बनाएको छ भने ११ वटामा आंशिक क्षति पु¥याएको छ । जसमा ६ सामुदायिक, चार निजी र एक धार्मिक विद्यालय रहेका छन् । बाढीपछि २५ वटा विद्यालयलाई ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएको छ । त्यहाँ दुई हजार दुई सय ७० विस्थापितलाई राखिएको छ । मन्त्रालयको तथ्यांकअनुसार १५ विद्यालय भवनमा प्रत्यक्ष क्षति नपुगे पनि मानवीय क्षति वा अन्य असरका कारण शैक्षिक गतिविधि सञ्चालन गर्न सकिएको छैन ।


‘बाढीपहिरोले २३ शैक्षिक संस्था त क्षतिग्रस्त भएका छन् । २५ वटा शैक्षिक संस्था विस्थापित नागरिकको आश्रयस्थलका रूपमा प्रयोग भइरहेका छन् । यी विद्यालयमा तत्काल पठनपाठन सञ्चालन गर्न सक्ने अवस्था छैन,’ शिक्षा मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले भने । उनका अनुसार त्यहाँबाट बाढीपीडितलाई अन्य स्थानमा सार्न स्थानीय तहसँग समन्वय थालिएको छ ।


बाढीबाट सबैभन्दा बढी शैक्षिक क्षति नुवाकोटमा भएको छ । यहाँका ११ विद्यालय बाढीले क्षतिग्रस्त बनाएको छ । ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएका १६ विद्यालयमा पनि पठनपाठन अवरुद्ध छ । एक विद्यालयमा भौतिक क्षति नभए पनि शिक्षक र विद्यार्थीको अनुपस्थितिका कारण पठनपाठन सुरु भएको छैन । सबै गरेर नुवाकोटका ६ हजार तीन सय १५ विद्यार्थीको पढाइ प्रभावित बनेको शिक्षा मन्त्रालयको तथ्यांक छ । 


धादिङका आठ विद्यालय बाढीले क्षतिग्रस्त बनेका छन् भने दुई विद्यालय ‘होल्डिङ सेन्टर’का रूपमा प्रयोग गरिएका छन् । अन्य चार विद्यालय सञ्चालन गर्न सकिने भए पनि विद्यार्थी नआएकाले पठनपाठन सुरु हुन सकेको छैन । यी सबै विद्यालयमा पाँच हजार ६६ विद्यार्थी अध्ययनरत रहेको मन्त्रालयको तथ्यांक छ । त्यस्तै, रसुवाका चार विद्यालयमा बाढीले क्षति पुर्‍याएको छ । यहाँका सात विद्यालयमा विस्थापितलाई राखिएको छ । अन्य १० विद्यालयमा विद्यार्थी नै स्कुल आएका छन् । समग्रमा रसुवामा तीन हजार ७४ विद्यार्थीको पढाइ अवरुद्ध बनेको मन्त्रालयको तथ्यांक छ । 


प्रभावित बालबालिकाको पठनपाठन कसरी सुरु गर्ने भन्नेमा अन्योल

बाढीले प्रभावित नबनाएका नुवाकोटका विद्यालयमा भने बुधबारदेखि पठनपाठन सुरु गरिएको छ । तर, बाढीबाट क्षतिग्रस्त र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीलाई कसरी पढाउने भन्नेबारे स्थानीय सरकार अन्योलमा छन् । शिक्षा मन्त्रालयले भने क्षतिग्रस्त विद्यालयका विद्यार्थीका लागि बाढी प्रभावित १५ स्थानीय तहमा ५३ वटा सामुदायिक सिकाइ केन्द्र ९सिएलसी० निर्माण गरेको दाबी गरेको छ । मन्त्रालयका प्रवक्ता श्रीप्रसाद भट्टराईले रसुवामा २०, नुवाकोटमा १६, धादिङमा १२, तनहुँमा तीन र गोरखामा दुई सिकाइ केन्द्र निर्माण गरिएको बताए । 


तर, प्रभावित क्षेत्रका स्थानीय तहले भने सिकाइ केन्द्र निर्माण नभएको बताएका छन् । ‘अन्य विद्यालयमा त बुधबारदेखि पठनपाठन सुरु भइरहेको छ, तर क्षति पुगेका र होल्डिङ सेन्टरका रूपमा प्रयोग भएका विद्यालयका विद्यार्थीका विषयमा भने अनिश्चितता छ,’ विदुर नगरपालिका शिक्षा शाखा प्रमुख नमराज सापकोटाले भने, ‘होल्डिङ सेन्टर स्कुलबाट हटाउनुपर्छ । स्कुलमा बसेकालाई अन्य अस्थायी आवास तयार गरेर राख्नुपर्छ भनेर तयारी पनि गरेका छौँ । १० हजार कोठाभाडा दिएर भए पनि स्कुलबाट अन्य स्थानमा सार्ने तयारी गरिरहेका छौँ, यहाँ सिकाइ केन्द्र पनि बनेका छैनन् ।’


उत्तरगया गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालले बाढीमा क्षतिग्रस्त बनेका र होल्डिङ सेन्टरका रूपमा रहेका विद्यालयमा तत्काल पठनपाठन सम्भव नभएको बताए । ‘पालिकाका धेरै विद्यार्थी छरिनुभएको छ, ८७ जना अभिभावकविहीन बालबालिका हुनुहुन्छ,’ उनले भने, ‘केही होल्डिङ सेन्टर विद्यालयमा छन् । ती विद्यालयमा विद्यालय कसरी नियमित गराउने भन्ने विषयमा छलफल गरिरहेका छौँ, तर तत्काल नियमित पठनपाठन सम्भव देखिँदैन । क्षति नपुगेका विद्यालय भने बुधबारदेखि सञ्चालन गरेका छौँ ।’


बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङले पनि क्षतिग्रस्त विद्यालयका बालबालिकाको पठनपाठन नियमित गर्न समस्या भएको बताए । ‘बाढीबाट प्रभावित बालबालिकालाई वडा नम्बर ७ मा रहेको महादेव माविको छात्रावासमा राख्ने र पढाउने भनेर योजना बनाएका छौँ, तर अहिले नै पढाउन विद्यार्थी डर, त्रास र पीडामा छन् । त्यसैले अन्योल भइरहेको छ,’ उनले भने । 


 अझै यकिन भएन अभिभावकविहीन बालबालिकाको संख्या

१७ दिन बित्दा पनि शिक्षा मन्त्रालयले अभिभावकविहीन बनेका बालबालिकाको यकिन तथ्यांक संकलन गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालयहरूमार्फत प्रारम्भिक आकलन मात्रै गरेका छन् । नुवाकोट र रसुवाका ४०–४० तथा धादिङका सात बालबालिकाले अभिभावक गुमाएको प्रारम्भिक तथ्यांक छ । तर, यो तथ्यांक अपूरो भएको आशंकासहित यकिन गर्न फाराम भराउन लागिएको शिक्षा मन्त्रालयका उपसचिव नीलकण्ठ ढकालले बताए । ‘अहिले प्रारम्भिक आकलनको तथ्यांक मात्रै हो ।


तीन जिल्लामा त्यस्ता बालबालिका अझ बढी पनि हुन सक्छन्, तीबाहेकका जिल्लामा पनि हुन सक्छन् । केही दिनमा यकिन हुन्छ । त्यसपछि उनीहरूलाई राज्यले नै हेर्छ र शैक्षिक गतिविधिमा सरिक गराउँछौँ,’ उनले भने । शिक्षा मन्त्रालयले अभिभावकविहीन बालबालिकाबारे जानकारी गराएर सहयोग गर्न पनि अनुरोध गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।