इनरुवाः विगतमा सुधारका प्रयाससँगै रेफर अस्पतालको अवस्थाबाट उपचार सेवा दिने अस्पतालका रूपमा विकास भएको इनरुवा अस्पताल पछिल्लो समय पुनः रेफर अस्पताल बन्ने अवस्थामा पुगेको भन्दै सुधारका लागि नागरिकस्तरबाट दबाब अभियान सञ्चालन गर्न आह्वान गरिएको छ।
इनरुवा अस्पताल सुधार संघर्ष समितिका अभियन्ता दिलिप साहले अस्पतालमा आवश्यक दक्ष चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्ति व्यवस्थापन गर्नुको सट्टा आफन्त, नातेदार तथा निकटका व्यक्तिलाई भर्ना गर्ने प्रवृत्तिले अस्पतालको आर्थिक स्रोत तलबमै खर्च भइरहेको र त्यसको असर बिरामीको उपचार सेवामा परेको आरोप लगाएका छन् ।
साहका अनुसार तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा.देवराज घिमिरेको कार्यकालमा अस्पतालमा भएका सुधारका कामले इनरुवा अस्पताललाई रेफर गर्ने केन्द्रबाट बिरामीलाई उपचार सेवा प्रदान गर्ने अस्पतालका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो । त्यसको प्रत्यक्ष लाभ स्थानीय गरिब तथा विपन्न नागरिकले पाउँदै आएका थिए ।
तर पछिल्लो समय आवश्यक विशेषज्ञ चिकित्सक र दक्ष जनशक्ति ल्याएर सेवा विस्तार गर्नुको सट्टा पहुँचका आधारमा जनशक्ति व्यवस्थापन गर्ने प्रवृत्ति बढेको साहको आरोप छ ।
यसले अस्पतालको आम्दानीको ठूलो हिस्सा तलबभत्तामै खर्च हुने र बिरामीले पाउनुपर्ने उपचार तथा स्वास्थ्य सेवा प्रभावित हुने अवस्था आएको उनले बताएका छन् ।
“आवश्यक दक्ष चिकित्सक, स्वास्थ्यकर्मी र प्राविधिक दरबन्दीअनुसार जनशक्ति ल्याउनुपर्नेमा आफन्त, नातेदार र निकटका मानिस भर्ना गर्ने प्रवृत्ति देखिएको छ,” साहले भनेका छन्, “अस्पतालको आम्दानी तलबमै खर्च हुने तर बिरामीले पाउनुपर्ने उपचार र सेवा नपाउने अवस्था हुनु दुःखद् हो।”
उनले अस्पतालमा कार्यरत चिकित्सकलाई दिनुपर्ने न्यूनतम सेवा–सुविधा समेत उपलब्ध नगराइएको दाबी गरेका छन् । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक वातावरण र सुविधा नदिँदा गुणस्तरीय स्वास्थ्य सेवा प्रभावित भएको उनको भनाइ छ ।
त्यस्तै, स्वास्थ्य बीमामार्फत प्राप्त हुने सेवा तथा नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधि समेत बिरामीले सहज रूपमा प्राप्त गर्न नसकेको साहले आरोप लगाएका छन् ।
गरिब तथा विपन्न नागरिकको उपचारको प्रमुख आधार बनेको सरकारी अस्पतालमै औषधि र बीमासम्बन्धी सेवा प्रभावकारी नहुनु गम्भीर विषय भएको उनले बताएका छन् ।
साहले इनरुवा अस्पताललाई सुविधा सम्पन्न, गुणस्तरीय र भरपर्दो अस्पतालका रूपमा विकास गर्न सरकारलाई तत्काल दबाब दिनुपर्ने बताएका छन् ।
उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्न अस्पतालमा आवश्यक विशेषज्ञ चिकित्सक, आईसीयू, भेन्टिलेटर, सिटी स्क्यान, अत्यावश्यक औषधि, आधुनिक उपकरण र पर्याप्त स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने उनको माग छ ।
चौबीसै घण्टा प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्नुपर्ने साहको भनाइ छ।
अस्पताल सुधारको अभियान कुनै व्यक्ति वा संस्थाविरुद्ध नभई जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न केन्द्रित रहेको साहले स्पष्ट पारेका छन् ।
उनले सम्पूर्ण सुनसरीवासी, नागरिक समाज, राजनीतिक दल, युवा, विद्यार्थी, व्यवसायी, सञ्चारकर्मी तथा सामाजिक संघ–संस्थालाई शान्तिपूर्ण र रचनात्मक अभियानमा सहभागी हुन अपिल गरेका छन्।
“इनरुवा अस्पताललाई सुविधा सम्पन्न, गुणस्तरीय र भरपर्दो अस्पतालका रूपमा विकास गर्नु हामी सबैको साझा दायित्व हो,” साहले भनेका छन्, “आज हामीले आवाज उठाएनौँ भने भोलि पनि समस्या दोहोरिन सक्छ । आउनुहोस्, इनरुवा अस्पताल सुधारका लागि हातेमालो गरौँ र जनताको अस्पताललाई सुविधा सम्पन्न बनाऔँ।”
इनरुवा अस्पताल सुधार संघर्ष समितिले अस्पतालमा आवश्यक जनशक्ति, विशेषज्ञ सेवा, उपकरण, औषधि तथा चौबीसै घण्टा प्रभावकारी उपचार सेवा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गर्दै नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।




















