मकवानपुरः मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा यात्रुवाहक ईभी सडकबाट करिब १ हजार मिटर तल खस्दा चालकसहित चार जनाको मृत्यु भएको छ। दुर्घटनामा चार जना घाइते भएका छन्।
मंगलबार दिउँसो करिब २ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक ईभी हेटौंडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा सडकबाट करिब १ हजार मिटर तल खसेर दुर्घटनामा परेको हो।
दुर्घटनामा चालकसहित चार जना पुरुषको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते हुनेमा दुई महिला र दुई पुरुष रहेका छन्।
घाइतेमध्ये दुई पुरुष र एक महिलालाई उद्धार गरी थप उपचारका लागि काठमाडौं पठाइएको छ भने एक महिलालाई उपचारका लागि हेटौंडा पठाइएको छ।
दुर्घटनालगत्तै प्रहरी चौकी खानीखेतबाट प्रहरी सहायक निरीक्षक, इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको कमाण्डमा ट्राफिक प्रहरीसहित २१ जनाको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक व्यवस्थापनको काम गरेको जनाएको छ। प्रारम्भिक विवरणअनुसार दुर्घटनाग्रस्त ईभीमा चालकसहित आठ जना सवार थिए।
दुर्घटनाको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।




















