इटहरीः सुनसरी क्षेत्र नम्बर ३ का सांसद अशोककुमार चौधरीले इटहरी अस्पताललाई तत्काल स्तरोन्नति गरी सर्पदंश, आकस्मिक तथा ट्रमा उपचार सेवासहितको सुविधा विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सभामुख डिपी अर्यालमार्फत विषय उठाउँदै सांसद चौधरीले इटहरी अस्पतालमा तत्काल सर्पदंश उपचार सेवा सञ्चालन गर्न माग गरेका हुन्। उनले अस्पतालमा आवश्यक एन्टिभेनम, तालिमप्राप्त जनशक्ति, आकस्मिक उपचार सेवा, आईसीयू तथा बालबालिकाका लागि PICU र आवश्यक श्वासप्रश्वास सहयोगसहितका बेडको व्यवस्था गर्नुपर्ने बताए।
उनले इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्पदंश उपचार केन्द्रमा १३ वर्षभन्दा कम उमेरका बालबालिकाको उपचार नहुने व्यवस्था रहेको जानकारी आएको भन्दै त्यसलाई गम्भीर विषयका रूपमा उठाए।
सर्पदंशको उपचारका लागि सुरुवाती समय अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै चौधरीले बिरामीलाई एउटा अस्पतालबाट अर्को अस्पतालमा रिफर गर्दै समय बिताउने अवस्था अन्त्य गर्नुपर्ने बताए।
उनले इटहरी–५ की ८ वर्षीया आस्वाना चौहानलाई घरमै खेलिरहेका बेला गोमन सर्पले डसेपछि इटहरी, धरान हुँदै विराटनगर पुर्याउँदा पनि ज्यान बचाउन नसकिएको घटनाको उदाहरण संसदमा प्रस्तुत गरे।
त्यसैगरी, केही दिनअघि धरानको लाङ्घाली चोक नजिक दुर्घटनामा गम्भीर घाइते राजेन्द्रप्रसाद घिमिरेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आईसीयू खाली नभएपछि विराटनगर लैजाँदै गर्दा मृत्यु भएको घटनातर्फ पनि उनले सरकारको ध्यानाकर्षण गराए। चौधरीले आवश्यक उपचार समयमै नपाउनु पनि मृत्युको एउटा कारण बन्ने बताए।
उनका अनुसार सुनसरीमा श्रावण १ देखि भदौ ३० गतेसम्म ६१ दिनमा १७२ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १२ जनाको मृत्यु भएको र २०२ जना घाइते भएका छन्।
धरान र विराटनगरबीच गम्भीर घाइतेको जीवन बचाउन सक्ने पर्याप्त सरकारी आकस्मिक तथा आईसीयू सेवा नरहेको भन्दै उनले इटहरीमा ट्रमा, आकस्मिक र आईसीयू सेवासहितको अस्पताल निर्माण गर्नुपर्ने माग गरे।
चौधरीले भने, “दुर्घटना रोक्न सधैँ सम्भव नहोला। सर्पदंश पनि सधैँ रोक्न सम्भव नहोला। तर उपचारको अभावमा हुने मृत्यु रोक्न सकिन्छ।”
१५ जना अझै सम्पर्कविहीन
सांसद चौधरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारलाई थप प्रभावकारी बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।
उनले आफ्नो सुनसरी जिल्लाका २१ जना नागरिकमध्ये ६ जना परिवारको सम्पर्कमा आएको र आफ्नो निर्वाचन क्षेत्रका सचिन गौतम, सचिव उरावसहित १५ जना अझै सम्पर्कविहीन रहेको जानकारी दिए। बेपत्ता नागरिकको शीघ्र खोजी गर्न उनले सरकारसँग माग गरे।
बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।
संसदमा सार्वजनिक सेवासँग जोडिएका समस्याबारे बोल्दै चौधरीले गजेन्द्र नारायण सिंह अस्पताल, ग्यास अभावलगायतका विषय सरकारका लागि बचाउ गर्नेभन्दा सुधार गर्नुपर्ने विषय भएको बताए।
उनले सार्वजनिक संस्थामा हुने नियुक्ति, ग्यास डिलर छनोट तथा पहुँच र प्रभावसँग जोडिएका पुराना समस्या लामो समयदेखि जरा गाडेर बसेको उल्लेख गर्दै वर्तमान सरकारको पाँच महिनाको अवधिसँग मात्रै जोडेर समस्याको मूल्यांकन गर्न नहुने धारणा राखे।
“विगतका कमजोरीलाई वर्तमान सरकारको पाँच महिनाको खातामा मात्र राखेर हिसाब मिलाउन खोजियो भने जनताले पनि प्रश्न सोध्नेछन्—हिसाब पाँच महिनाको मात्रै हो कि दशकौँको पनि हो ?” चौधरीले प्रश्न गरे।
उनले पुरानो संरचनाका कमजोरी देखाएर वर्तमान सरकारलाई मात्रै जिम्मेवार ठहर गर्ने प्रयासभन्दा प्रणाली सुधारतर्फ केन्द्रित हुनुपर्ने बताए।




















