इटहरीः आर्थिक वर्ष २०८३/८४ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममा २०८३/८४ देखि २०९२/९३ सम्मलाई “रोजगार प्रवर्धन दशक” को रूपमा घोषणा गरिएको छ। सो सन्दर्भमा युवा जनशक्तिको ऊर्जा एवम् सीपलाई स्वदेशमै उपयोग गरी रोजगारीको उत्तम र अनुकूल पर्यावरण निर्माण गर्ने राष्ट्रिय सोचका साथ युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकको एक अभिन्न सम्भागको रुपमा राष्ट्रव्यापी रुपमा सीप तथा रोजगार मेला आयोजना गर्ने तय भएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले “सीप तथा रोजगार मेला सञ्चालन निर्देशिका, २०८३” जारी गरी उक्त निर्देशिकाको प्रावधान अनुरुप सीप तथा रोजगार मेला आयोजना तथा सञ्चालनका निम्ति माननीय युवा, श्रम तथा रोजगार मन्त्रीको संयोजकत्वमा निर्देशन तथा समन्वय समितिको बिहिबार बसेको बैठकले असोज १४ देखि २० गतेसम्म कोशी प्रदेशको इटहरीमा सीप तथा रोजगार मेला आयोजना गरिने भएको छ। यस किसिमको मेलालाई क्रमशः अन्य प्रदेशमा समेत सञ्चालन गर्ने गरी राष्ट्रिय अभियानको रुपमा अघि बढाउने मन्त्रालयको उद्देश्य रहेको छ।

तीनै तहका सरकार, निजी तथा गैरसरकारी क्षेत्र, विकास साझेदार संस्था, रोजगारदाता संघरमहासंघ, उद्योगी व्यवसायी तथा शैक्षिक एवं तालिम प्रदायक संस्थाहरूको समन्वय र सहकार्यमा मेला सञ्चालन हुने भएकोले सीप, रोजगारी, उद्यमशीलता, स्वरोजगार प्रवर्धन गर्दै श्रमको सम्मान र स्वदेशमै रोजगारीको अवसर अभिवृद्धि गर्ने सबै सरोकारवालाहरूलाई सहभागिताका लागि समेत मन्त्रालयले आव्हान गरेको छ।
असोज १ गते युवा श्रम तथा रोजागार मन्त्रीको अध्यक्षतामा निर्देशन तथा समन्वय समितिको पहिलो बैठकमा मन्त्रीले नेपालको श्रम बजारलाई थप आकर्षक बनाउनुपर्ने र नेपालमा नै युवाहरूलाई रोजगारीमा आवद्ध तथा उद्ममी बन्न सकिन्छ भन्ने अनुभूति तथा सन्देश दिनुपर्ने सरकार र निजी क्षेत्र दुवैको दायित्व रहेको बताए । साथै आन्तरिक रोजगारी दशकलाई सफल बनाउन सरकार र निजी क्षेत्र लगायत सबै सरोकारवाला मिलेर सीप र रोजगारीको एक बलियो प्रणाली निर्माण गर्नुपर्ने आवश्यकतामा मन्त्रीले जोड दिए । यस प्रणाली निर्माणमा यो सीप तथा रोजगार मेला कोशेढुङ्गा बन्ने समेत विश्वास व्यक्त गरे।




















