इटहरीः  सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार एक जना घाइते भएका छन् ।


कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–४ आर्मी क्याम्पनजिक शुक्रबार बिहान करिब ४ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार पानी परिरहेका बेला उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १९ प ३१५० नम्बरको मोटरसाइकल सडकमा चिप्लिएर अनियन्त्रित भई डिभाइडरमा ठोक्किएको थियो ।


दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय मोटरसाइकल चालक अनिल राई गम्भीर घाइते भएका थिए ।


उनलाई उपचारका लागि सुरुमा सामुदायिक अस्पताल इटहरी लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल रेफर गरिएको थियो ।


विराट शिक्षण अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले राईलाई बिहान ५ः२० बजे मृत घोषणा गरेको कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी दीपक गिरीले जानकारी दिए ।


दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भिरगाउँकै २६ वर्षीय सन्दीप राई घाइते भएका छन् । उनको विराट शिक्षण अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।


पानी परिरहेका कारण सडक चिप्लो हुँदा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।