इटहरीः  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोशी प्रदेश समितिको महत्वपूर्ण बैठक बिहीबार काठमाडौंस्थित सिंहदरबारमा सम्पन्न भएको छ। आगामी स्थानीय तह निर्वाचन २०८४ लाई लक्षित गर्दै संगठन विस्तार, कार्यकर्ता वृद्धि तथा सम्भावित उम्मेदवार छनोटलगायतका विषयमा बैठकमा गहन छलफल भएको हो।


बैठकमा कोशी प्रदेशका १४ वटै जिल्लाका हरेक स्थानीय तहमा पार्टीको संगठनलाई थप विस्तार र सुदृढ बनाउने, कार्यकर्ताको संख्या वृद्धि गर्ने तथा प्रदेश समितिलाई थप शक्तिशाली, प्रभावशाली र चलायमान बनाउने विषयमा छलफल भएको बैठकमा सहभागी सुनसरी क्षेत्र नम्बर ३ का सांसद अशोककुमार चौधरीले जानकारी दिए।


सांसद चौधरीका अनुसार बैठकमा रास्वपा कोशी प्रदेश सभापति चन्द्र राईसहित प्रदेश समितिका पदाधिकारी, कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापति तथा कोशी प्रदेशबाट प्रतिनिधिसभामा निर्वाचित सांसदहरूको सहभागिता थियो। बैठकमा पार्टीका केन्द्रीय महामन्त्री विपिन आचार्य प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

koshi 3

बैठकले पार्टीले यसअघि घोषणा गरेको ‘क्यान्डिडेट क्लब’मा सहभागी हुन कोशी प्रदेशका १४ जिल्लाका गाउँपालिकास्तरमा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। त्यस्तै, आगामी दिनमा खुल्ने नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकामा उम्मेदवार छनोटको तयारीका लागि संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने विषयमा पनि छलफल भएको चौधरीले बताए।


स्थानीय तह निर्वाचनमा कोशी प्रदेशका विभिन्न स्थानमा पार्टीलाई प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने उद्देश्यले उम्मेदवार छनोटलाई विशेष प्राथमिकता दिने विषयमा बैठकमा छलफल भएको उनले बताए।


चौधरीका अनुसार स्थानीय तहको नेतृत्वका लागि सम्बन्धित पालिकाको सामाजिक, आर्थिक तथा राजनीतिक अवस्था बुझेका, स्थानीय मुद्दाबारे जानकार, जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेका तथा संगठन निर्माणमा योगदान गर्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउने विषयमा प्रदेश समितिले गम्भीरतापूर्वक काम गर्नेबारे छलफल भएको छ।

koshi 1


‘मेयर’ र ‘उपमेयर’सहित स्थानीय तहका विभिन्न पदमा उम्मेदवार छनोट गर्दा स्थानीय तहको आवश्यकता र जनताको अपेक्षालाई प्राथमिकतामा राख्ने विषयमा समेत बैठकमा छलफल भएको सांसद चौधरीले जानकारी दिए।


त्यसैगरी, स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीका केन्द्रीय समितिका जिम्मेवार पदाधिकारीलाई कोशी प्रदेशका विभिन्न जिल्ला तथा पालिकामा खटाउने विषयमा पनि बैठकले केन्द्रलाई विशेष अनुरोध गर्ने निर्णय गरेको छ।

WhatsApp Image 2026-09-18 at 18.20.37

आगामी निर्वाचनलाई लक्षित गर्दै केन्द्र, प्रदेश, जिल्ला र पालिका तहबीच समन्वयलाई थप प्रभावकारी बनाउने तथा संगठनलाई तल्लो तहसम्म विस्तार गर्ने रणनीतिका विषयमा बैठकमा छलफल भएको चौधरीले बताए।


बैठकले स्थानीय तह निर्वाचनको तयारीलाई अहिलेबाटै तीव्रता दिने, सम्भावित उम्मेदवार पहिचान तथा संगठन विस्तारलाई समानान्तर रूपमा अघि बढाउने र कोशी प्रदेशका सबै जिल्लामा पार्टीका गतिविधिलाई थप सक्रिय बनाउने विषयलाई प्राथमिकतामा राखेको छ।