७ असोजमा जिल्ला र १० असोजमा प्रदेश अधिवेशन

इटहरीः कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको कार्यतालिकाअनुसार शनिबारदेखि वडा अधिवेशन सुरु हुँदै छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु हुने वडा अधिवेशन आइतबार पनि सञ्चालन हुनेछ । यसमा १४औँ महाधिवेशनका सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी छैन । 


सभापति गगन थापाले १५औँ महाधिवेशनको तयारी वडा तहबाटै सुरु हुन गइरहेको भन्दै उत्साहका साथ सहभागी हुन पार्टीपंक्तिलाई आह्वान गरेका छन् । ०८२ पुससम्म क्रियाशील सदस्यता नवीकरण गरेका क्रियाशील सदस्यले वडा अधिवेशनमा भाग लिन पाउनेछन् ।


वडा अधिवेशनले सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ । कांग्रेसको विधानअनुसार वडा सभापतिलाई वडासदस्यका लागि मनोनयन गर्ने अधिकारसमेत दिइएको छ । जसअनुसार गाउँपालिकाका वडा सभापतिले पाँच, नगर–उपमहानगरपालिकाका वडा सभापतिले ६ र महानगरपालिकाका वडा सभापतिले सातजनालाई मनोनयन गर्न पाउनेछन् ।


वडा समितिमा एकतिहाइ सदस्य अनिवार्य महिला हुनुपर्ने व्यवस्था छ । समावेशी सिद्धान्तअनुसार सबै समुदायको प्रतिनिधित्व, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्वलाई समेत ध्यान दिँदै क्रियाशील सदस्यमध्येबाट वडासदस्य मनोनयन गर्नुपर्ने व्यवस्था विधानमा छ ।


३ र ४ असोजमा सुरु हुने वडा तहको निर्वाचन कार्यक्रम सम्पन्न गर्न ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाएको कांग्रेसले जनाएको छ । निर्वाचन अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका पार्टीका जिम्मेवार पदाधिकारी र सदस्यसँग निर्वाचनसम्बन्धी विषयमा छलफल गर्ने तथा वडा तहमा मतदान अधिकृत खटाउनेलगायत काम सम्पन्न गरिसकेको कांग्रेसले जनाएको छ । कांग्रेसले निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउन निर्वाचन अधिकृतहरूलाई आवश्यक समन्वय र तयारीका लागि जिल्लामा परिचालन गरिएको जनाएको छ ।


गाउँ, नगर, उपमहानगर र महानगरका वडा अधिवेशनबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिसमेत चयन हुनेछन् । कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि ७ असोजमा जिल्ला र १० असोजमा प्रदेश अधिवेशन हुनेछ । त्यसलगत्तै १६–१९ असोजमा काठमाडौंमा १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका छ । 


करिब आठ लाख क्रियाशील सदस्य, वडादेखि नै युवाको प्रतिनिधित्व सुनिश्चित

कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार देशभर करिब आठ लाख क्रियाशील सदस्य पुगेका छन् । विशेष महाधिवेशनमा संशोधन गरिएको पार्टी विधानले वडा समितिदेखि केन्द्रसम्म नै ३० वर्षमुनिका युवाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।


विधानअनुसार वडा समितिमा ३० वर्षमुनिका एक युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा तीनजना युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप एक युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ ।


नगर, उपमहानगर र महानगरपालिका वडा समितिमा ३० वर्षमुनिका दुई युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर, उपमहानगर, महानगरपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा ३० वर्षमुनिका युवाबाट एक महिलासहित तीनजना प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको नगर, उपमहानगर, महानगरपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप एक युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ ।


गाउँपालिका समितिमा कम्तीमा एक महिलासहित ३० वर्षमुनिको युवा तीनजना प्रत्यक्ष निर्वाचित गराउनुपर्नेछ । नगर, उपमहानगर र महानगर समितिमा एक महिलासहित ३० वर्षमुनिका तीन युवा निर्वाचित गर्नुपर्ने वैधानिक व्यवस्था छ ।


प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा ३० वर्षमुनिको एक युवा प्रत्यक्ष निर्वाचित गराउनुर्नेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३५ वर्षमुनिका एक महिलासहित तीनजना निर्वाचित गर्नुपर्ने भएको छ ।


महासमिति सदस्यमा पनि प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनले ३० वर्षमुनिका एक युवा प्रत्यक्ष निर्वाचित गराउनुर्नेछ । प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा ३० वर्षमुनिका एक महिलासहित दुई युवा निर्वाचित गराउनुपर्नेछ ।


जिल्ला कार्यसमितिमा ३० वर्षमुनिका युवामध्येबाट एक महिलासहित तीनजना प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ । प्रदेश कार्यसमितिमा ३० वर्षमुनिका युवा दुई महिलासहित सातजना प्रत्यक्ष निर्वाचित गराउनुपर्नेछ ।


केन्द्रीय कार्यसमितिमा ३५ वर्षमुनिका युवा महाधिवेशन प्रतिनिधिहरू मात्र उम्मेदवार हुने गरी प्रत्येक प्रदेशबाट एक महिलासहित दुईजना र खुला सातजना गरी २१ जना सदस्य हुनेछन् । हरेक तह र निकायमा मनोनीत गर्दा पनि युवा प्रतिनिधित्वलाई ध्यान दिने कांग्रेसले जनाएको छ ।


वडादेखि नै युवाको प्रतिनिधित्व सुनिश्चित

विधानअनुसार वडा समितिमा ३० वर्षमुनिका एक युवा प्रत्यक्ष निर्वाचित सदस्य हुनुपर्नेछ । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा तीनजना युवा प्रतिनिधि प्रत्यक्ष निर्वाचित हुने व्यवस्था छ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिमा थप एक युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ ।


नगर, उपमहानगर र महानगरका वडा समितिमा ३० वर्षमुनिका दुई युवा प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ । १५० वा सोभन्दा कम क्रियाशील सदस्य भएको नगर, उपमहानगर, महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा ३० वर्षमुनिका युवाबाट एक महिलासहित तीनजना प्रत्यक्ष निर्वाचित गर्नुपर्नेछ । १५० भन्दा बढी क्रियाशील सदस्य भएको नगर, उपमहानगर, महानगरका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधि चयनमा थप एक युवाको प्रतिनिधित्व गर्नुपर्ने वैधानिक व्यवस्था छ । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।