इटहरीः शरीरमा अचानक राता डाम देखिएपछि तीन वर्षीय बच्चा लिएर एक अभिभावक चिकित्सककहाँ पुगे । तर, बच्चाको कुराकानी र व्यवहार देखेपछि डा। रामकुमार साहले मानसिक समस्यासमेत औँल्याएर औषधि दिए । किनकि बढीमा एक घण्टा हुनुपर्ने ‘स्क्रिन टाइम’ ९–१० घण्टा थियो र मोबाइल नपाए बच्चाले रुने, चिच्याउने तथा अभिभावकलाई नै झम्टिने गर्थे ।
यस्तै समस्या देखिएपछि अर्का पाँचवर्षे बालक पनि अस्पताल पुगेका थिए । खाना खुवाउने वेलादेखि कुनै पनि काममा फकाउन अभिभावकले नै मोबाइल दिने गरेको र अन्य समयमा टिभी हेर्ने बानीले उनको शारीरिक विकास उमेरअनुसार नभएको ठहर डा साहको थियो । ती बालकको शारीरिक गतिविधि न्यून थियो भने घरका मान्छेसँग पनि धेरै नबोल्ने, साथीहरू नबनाउने, दोहोरो संवाद नगर्नेजस्ता व्यवहार थियो ।
पछिल्लो पाँच–सात वर्षयता यस्तो समस्या थुप्रै आउन थालेको डा. साहले बताए । ‘बच्चालाई सानैदेखि मोबाइल र स्क्रिनको लत लागेको छ । यसले बच्चाको आँखालाई त असर गर्छ नै, अहिलेदेखि नै ढाड, घाँटीको समस्या निम्त्याउँछ,’ उनले थपे, ‘पोस्चर (बस्ने पोजिसन)को समस्याजस्ता शारीरिक मात्र होइन, मानसिक समस्या पनि बढ्दै गएको छ ।’ यसमा मुख्य दोष अभिभावककै रहेको उनी बताउँछन् ।
पहिलो बच्चामा एडिएचडी (एटेन्सन डेफिसिट हाइपरएक्टिभिटी डिसअर्डर) देखिएकाले साहले त्यसैअनुसार अभिभावकलाई काउन्सिलिङ गरेका थिए । यसबाहेकका अन्य मानसिक समस्या जुन पहिले वयस्कमा मात्र देखिन्थ्यो, त्योसमेत अहिले बालबालिकामा वा कमै उमेरदेखि देखिन थालेको छ । यसको प्रमुख कारणमध्ये एक बढी स्क्रिन टाइम नै भएको उनको भनाइ छ । ‘अटिजमजस्तै लक्षण बालबालिकामा देखिनुको एउटा कारण स्क्रिन टाइम पनि हो । यसले उमेरअनुसार हुनुपर्ने विकासलाई सुस्त बनाउँछ,’ उनले भने ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुई वर्षमुनिका बालबालिकाका लागि स्क्रिन टाइम शून्य हुनुपर्ने र चार वर्षसम्मका लागि बढीमा एक घण्टा मात्र स्क्रिन टाइम बनाउनुपर्ने जनाएको छ । चिकित्सकहरूका अनुसार बच्चाहरूले ध्यान केन्द्रित गर्न सिक्नुपर्नेमा फोनका कारण ‘एटेन्सन स्पान’मा असर पर्छ । बालबालिकाले सामाजिक हुन र मुहारको भाव बुझ्न पनि मानिससँग नै अन्तक्र्रिया गर्नुपर्छ । तर, मोबाइलको बढ्दो प्रयोगले उनीहरूलाई कम भावनात्मक बनाउने विभिन्न अध्ययनले देखाएका छन् ।
किशोर–किशोरी कानुनको फन्दामा
अभिभावकले आफ्ना सन्तान मोबाइलमा के गर्दै छन् भनेर निगरानी नगर्दा कानुनको फन्दामा पर्ने गरेका छन् । असारमा बाल अदालत भक्तपुरमा बाल यौन दुव्र्यवहारको एक मुद्दा दायर भयो । पीडित र प्रतिवादी दुवैको उमेर १८ वर्षभन्दा कम थियो । एकपटकको भेटपछि फेसबुकमा जोडिएका उनीहरूको म्यासेन्जरमा कुराकानी हुँदै आएको थियो । पछिल्लो भेटमा किशोरीमाथि बाल यौन दुव्र्यवहार गरेको जाहेरी बालिकाका अभिभावकले प्रहरीमा दिएका थिए ।
साइबर कानुन आकर्षित हुने गतिविधिसमेत हाल बालबालिकाले गर्ने गरेको उजुरी प्रहरीसमक्ष पुग्ने गरेको छ । यसरी बालबालिकालाई मोबाइल चलाउन दिँदा उनीहरू अपराधको सिकार हुन सक्ने जोखिम हुन्छ भने उनीहरूले नै अपराध गर्ने जोखिम पनि उत्तिकै हुने गरेको प्रहरीको भनाइ छ । साइबर ब्युरोका प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार हाल १८ वर्षभन्दा कम उमेरका बालबालिका साइबर अपराधको जोखिममा पर्ने र आफैँ पीडक बन्ने गरेका घटनासमेत ब्युरोमा पर्ने गरेका छन् ।
साथीहरूको नग्न फोटो बनाउने, सेयर गर्ने, बुलिङ वा हिंसा गर्ने, अनलाइन गेमिङ र सट्टेबाजीको कार्यमा संलग्न हुने गरेको उनको भनाइ छ । बालबालिकाले एआइै टुलको प्रयोग गरी वा साथीका फोटो अनुमति बेगर प्रयोग गर्ने, मोर्फ गर्ने, सेयर गर्नेजस्ता कार्य बालकालिकाले विद्यालय तहबाटै गर्न थालेको देखिएको छ भने यस्ता कार्यबारे अभिभावक नै अनभिज्ञ हुने गरेका छन् ।
‘मोबाइलमा टेक्निकल्ली बलियो भए पनि कानुनी कुरा थाहा नहुने हुँदा जानी–नजानी बच्चाहरू कानुनी द्वन्द्वमा पर्छन् । तर, अभिभावकले यो कुरालाई गम्भीरतापूर्वक लिएको देखिँदैन,’ गिरीले भने । बच्चाले विनामोबाइल स्कुल जान नमान्ने, आफ्ना काम नगर्नेजस्ता हलुका बहानामा अभिभावकले मोबाइल विनासुपरिवेक्षण चलाउन दिने गरेको उनको अनुभव छ ।
बालबालिकाको क्षेत्रमा कार्यरत अधिकारकर्मी अनिल रघुवंशीका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले आफ्ना प्लाटफर्म ‘एडिक्टिभ’ बनाएका छन् । जसले वयस्क मात्र होइन, बच्चालाई पनि सजिलै त्यसको लत लाग्छ । ‘तर, त्यसअनुसार सुरक्षाका कुरा त्यहाँ निकै न्यून छन् । यसका लागि अभिभावक मात्र होइन, यस्ता कम्पनी र राज्य पनि जिम्मेवार बन्नुपर्छ,’ उनले भने, ‘दूरसञ्चार प्राधिकरणले उठाउने कर कोषमा जम्मा भएको छ । तर, सुरक्षातर्फ खर्च हुनुपर्नेमा भएको छैन । सबैतिर इन्टरनेट पुर्याउनु मात्र उपलब्धि होइन, सबैका लागि सुरक्षित बनाउनु वास्तविक उपलब्धि हो ।’
नेपालमा बालबालिकालाई अनलाइन यौन शोषण तथा दुव्र्यवहारबाट जोगाउन अभिभावकीय भूमिका सुदृढ गर्ने विषयमा गरिएको एक अध्ययन प्रतिवेदनमा धेरैजसो बालबालिकाले आफ्ना अभिभावकको सामाजिक सञ्जाल एकाउन्ट चलाउने गरेको देखिएको थियो । चाइल्ड सेफ नेट र सेफ अनलाइनले काठमाडौं र ललितपुरका ६ देखि १७ वर्षसम्मका बालबालिकाका अभिभावकसँग सर्वेक्षण गरी २०२५ मा प्रतिवेदन सार्वजनिक गरेको थियो ।
प्रतिवेदनअनुसार २९ प्रतिशत बालबालिकाले अभिभावकको नाममा रहेका सामाजिक सञ्जाल खाता चलाउँथे भने तीमध्ये अधिकांशले आमाको नाममा रहेको खाता चलाउने गरेका थिए । धेरैजसो अभिभावक आफ्नो बच्चाको सामाजिक सञ्जाल खाताहरूबारे अनभिज्ञ रहेको पाइएको थियो भने बालबालिका वयस्क सामग्री तथा ‘गु्रमिङ’को जोखिममा थिए । ७३ प्रतिशत अभिभावकले कहिल्यै ‘प्यारेन्टिङ कन्ट्रोल टुल्स’ प्रयोग गरेका थिएनन् । अध्ययनअनुसार अधिकांशले बालबालिकासँग सामाजिक सञ्जाल र अनलाइनमा हुने जोखिमबारे कुराकानी गरेका थिएनन् । अभिभावकको सुपरिवेक्षणविनै प्रायः बालबालिका अनलाइन जाने गरेको अध्ययनले देखाएको थियो ।
समाजशास्त्री डा। गौतमका अनुसार अहिलेको परिवार संरचनामा कम सदस्य भए पनि बढी सदस्य भए पनि सामाजिक अन्तक्र्रियाका हिसाबले एकै प्रकृतिको छ । परिवारबिचकै सम्बन्ध साँघुरो बनेको छ । त्यसैले पनि बालबालिकाले संवाद र अन्तक्र्रिया सिक्न मोबाइल र टिभीकै भर परिरहेका छन् । ‘सोसल मिडिया, टिभी आदि बच्चा भुलाउने तेस्रो माध्यमका रूपमा देखापरेको छ । दुईतर्फी हुनुपर्ने अन्तक्र्रिया नै प्रतीकात्मक बनेको छ,’ उनले भने । कतिपय अध्ययनले बच्चामा बढी स्क्रिन टाइमले सिर्जनशीलता कम गर्दै लाने, बोली सिक्न समय लाग्ने, एकाग्रता कम गर्नेलगायत समस्या पनि देखिएको उनको भनाइ छ ।
अभिभावकसमेत घरका सदस्यले नै मोबाइल हेरिरहने भएपछि बालबालिकाले पनि त्यही सिक्ने र खेलकुदका लागि पर्याप्त स्थान तथा सामग्री नहुनु पनि समस्या रहेको रघुवंशीको भनाइ छ । उनी भन्छन्, ‘बच्चाहरूलाई सामाजिक सञ्जाल, भिडियो गेम वा मोबाइलको लत लाग्यो भन्छौँ हामी, तर त्यो समयमा गर्नेचाहिँ के भनेर विकल्प दिँदैनौँ । स्क्रिन टाइम धेरै भयो भन्छौँ, तर अरू एक्टिभिटी के गर्ने भनेर सिकाउँदैनौँ ।’ पेन्टिङ, सामग्री निर्माण, उसका रुचिका कुराकानीजस्ता कुरामा बच्चालाई व्यस्त बनाउनुपर्ने उनको भनाइ छ ।
आवेग नियन्त्रणमा पनि अप्ठ्यारो
स्क्रिन टाइम बढी भएका बालबालिकालाई आवेग नियन्त्रणमा पनि अप्ठ्यारो पर्ने गरेको छ । उनीहरूले हिंसालाई प्रोत्साहन गर्ने गेम खेल्ने, सामग्री हेर्नेजस्ता कार्य गर्दा आजीवन नै उनीहरूमाथि त्यसको असर देखिने चिकित्सकहरूको भनाइ छ । उनीहरूले सानैदेखि रिल्स, युट्युब सर्टस्, टिकटक आदि माध्यमबाट भिडियो हेर्छन् । यस्ता प्लाटफर्म वयस्कका लागि डिजाइन गरिएको हुन्छ र त्यस्तै कन्टेन्ट हुन्छन् । तर, यसमा अभिभावकले ध्यान दिएका हुँदैनन् र यस्ता सामग्रीको उपभोगबाट बच्चालाई रोक्दैनन् । ‘उल्टै अभिभावकले बच्चालाई मोबाइल दिएर आफू काम गर्छन् । बच्चालाई भुलाउने एउटा माध्यमका रूपमा लिएका छन्,’ समाजशास्त्री डा.टीकाराम गौतम भन्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।




















