इटहरीः इटहरी उपमहानगरपालिका योजना शाखाका इन्जिनियर भवेन्द्र चौधरीले वडा नम्बर ९ मा कार्यरत महिला प्राविधिक कर्मचारीलाई अस्पताल भर्ना हुनुपर्ने गरी कुटपिट गरेको घटना सार्वजनिक भएको छ। कुटपिटमा संलग्न भएको आरोप लागेका इन्जिनियर चौधरी भने हाल फरार रहेको प्रहरीले जनाएको छ।


इटहरी–३ मा सरुवा भइसकेकी प्राविधिक कर्मचारी एलिना अधिकारी र इन्जिनियर चौधरीबीच कार्यसम्पादनका विषयलाई लिएर केही समयदेखि भनाभन हुँदै आएको बताइएको छ। विवाद बढ्दै गएपछि इन्जिनियर चौधरी कुटपिटमा उत्रिएको आरोप छ।


वडा नम्बर ९ को कार्यालयमा कार्यरत प्राविधिक कर्मचारी अधिकारीमाथि इन्जिनियर चौधरीले कार्यालय समयमै उनको कार्यकक्षमा कुटपिट गरेको बताइएको छ। कुटपिटबाट घाइते अधिकारीलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। उनी दुई दिनको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी थिइन्।


अस्पतालबाट डिस्चार्ज भएपछि अधिकारीले कुटपिटमा संलग्न इन्जिनियर चौधरीमाथि कानुनी कारबाहीको माग गर्दै भदौ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएकी थिइन्। प्रहरीले उनको उजुरीका आधारमा अभद्र व्यवहारसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको थियो।


सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय सुनसरीले इन्जिनियर चौधरीलाई पक्राउ गरी आवश्यक कानुनी कारबाही अघि बढाउन असोज ५ गते पक्राउ अनुमति दिएको जनाइएको छ।

sadbhaw

आफूमाथि उजुरी परेको जानकारी पाएपछि इन्जिनियर चौधरी फरार भएको बताइएको छ। फरार चौधरीको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।


इटहरी–९ का वडाध्यक्ष जितेन्द्र थापाले कार्यालय समयमै कार्यकक्षमा कार्यसम्पादनका विषयमा विवाद हुँदा इन्जिनियर चौधरीले महिला प्राविधिक कर्मचारी अधिकारीमाथि कुटपिट गरेको आफूले जानकारी पाएको बताए। घटना भएको दिन आफू कार्यालयमा उपस्थित नरहेको उनले स्पष्ट पारे।


इटहरी उपमहानगरपालिका योजना शाखाका प्रमुख जीवन घिमिरेले पनि इन्जिनियर चौधरीले प्राविधिक कर्मचारी अधिकारीमाथि कुटपिट गरेको जानकारी आफूले बाहिरबाट पाएको बताए। उनले घटनाबारे आफूले विस्तृत रूपमा बुझ्न नपाएको बताए।


इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश तिम्सिनाले योजना शाखाका इन्जिनियर चौधरी केही समयअघिदेखि नै बिदामा रहेको बताए। कार्यालयमै कार्यरत महिला प्राविधिक कर्मचारीमाथि कुटपिट गर्नु उचित नभएको उनको भनाइ छ।


महिला प्राविधिक कर्मचारी अधिकारीले कानुनबमोजिम इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिइसकेको र प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको तिम्सिनाले बताए। घटनाको कानुनी प्रक्रिया पूरा भई तथ्य पुष्टि भएपछि इटहरी उपमहानगरपालिकाले पनि इन्जिनियर चौधरीमाथि विभागीय रूपमा के–कस्तो कारबाही गर्ने भन्ने निर्णय लिने उनले बताए।