इटहरीः माघ १२ गतेदेखि शुरु हुने मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा सहभागी हुने टिमको टुङ्गो लागेको छ ।
प्रतियोगितामा २ वटा विदेशी टिम र नेपालका ए डिभिजन क्लब गरी ८ टिमको सहभागिता रहने निश्चित भएको प्रतियोगिता संयोजक एवम् एन्फा सुनसरी कोषाध्यक्ष कोबितजङ्ग कार्कीले बताए ।
माघ १९ गतेसम्म चल्ने प्रतियोगितामा क्यामरुनको दाफिन्स फेमिली फुटबल टिम सहित भुटानको भुटान एएफसी टिमको सहभागिता रहने कार्कीले बताए । यस्तै विभागीय टिम नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, मनाङ मस्र्याङदी क्लब, थ्री स्टार क्लब, मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र आयोजक राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका हुन् ।
सो गोल्डकप विजेताले नगद १६ लाखसहित ट्रफी र उपविजेताले नगद ८ लाखसहित ट्रफी पाउने भएका छन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने निश्चित भएको कार्कीले बताए ।