इटहरीः गीतकार, फेसन डिजाइनर, निर्माता तथा समाजसेवी भाइसन बर्देवाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार बिहान इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालको परिसरमा राखिने भएको छ।


कोशी प्रदेशका संगीतकर्मी, कलाकार, साहित्यकार तथा बर्देवाका शुभेच्छुकहरूको उपस्थितिमा उनको अन्तिम विदाई गर्ने कार्यक्रम तय भएको संगीत साधना प्रतिष्ठान नेपालका पूर्वमहासचिव तथा बर्देवाका निकट साथी राजु केसीले जानकारी दिए।


केसीका अनुसार इटहरीको आपँगाछीस्थित प्रतिष्ठान परिसरमा बर्देवाको पार्थिव शरीर करिब डेढ घण्टा राखिनेछ। त्यहाँ संगीत तथा कला क्षेत्रका व्यक्तित्व, आफन्त, साथीभाइ र शुभेच्छुकले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ। त्यसपछि बर्देवाको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि इटहरीको बूढीखोला स्थित गंगा–जमुना मुक्तिघाट लगिनेछ।


बर्देवाको निधनले इटहरीको कला, संगीत, सामाजिक तथा व्यवसायिक क्षेत्रमा ठूलो क्षति पुगेको संगीतकर्मीहरूले बताएका छन्।


‘इटहरी हो इटहरी’बाट इटहरीलाई राष्ट्रिय पहिचान


बर्देवा करिब तीन दशकअघि नै इटहरीको पहिचानलाई गीतमार्फत राष्ट्रियस्तरमा पुर्‍याउने सर्जकका रूपमा स्थापित भएका थिए। उनले ‘इटहरी हो इटहरी’ बोलको गीत सिर्जना गर्नुका साथै त्यसको भिडियोसमेत निर्माण गरी सार्वजनिक गरेका थिए।


त्यतिबेला सार्वजनिक भएको उक्त गीतले देशभित्र मात्र नभई विदेशमा समेत इटहरीको परिचय स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको थियो। सोही गीतबाट हालका चर्चित कमेडी गायक श्रीकृष्ण लुइँटेलसमेत स्थापित भएको बताइन्छ।



बर्देवाको उक्त गीत ‘इटहरी डटकम’ नामक एल्बममा समावेश गरिएको थियो।


सिर्जनामा लागेका व्यक्तिहरूलाई सहयोग गर्ने बर्देवाको स्वभावका कारण उनी इटहरीको कला र साहित्य क्षेत्रका लागि सहयोगी व्यक्तित्वका रूपमा परिचित थिए। सिर्जनशील व्यक्तिहरूलाई सहयोग गर्न उनी भातपानीसमेत बिर्सने गरेको उनका निकटस्थहरू बताउँछन्। इटहरी आउने कुनै पनि सर्जक तथा कलाकारलाई सकेसम्म सहयोग गरेर मात्र फर्काउने उनको स्वभाव रहेको केसीले बताए।


‘मनका कुरा’बाट सफल गीतकारको परिचय


बर्देवाले आफ्नै शब्द तथा लगानीमा ‘मनका कुरा’ नामक एल्बम नेपाली सांगीतिक बजारमा ल्याएका थिए। उक्त एल्बमले उनलाई सफल गीतकार तथा संगीतप्रेमीका रूपमा थप स्थापित गरेको थियो।


एल्बममा राष्ट्रभावले ओतप्रोत गीत, आधुनिक गीत तथा गजल समावेश थिए। एल्बममा कर्ण दास, रामकृष्ण ढकाल, सपना श्री, स्वरूपराज आचार्यलगायत एक दर्जनभन्दा बढी चर्चित गायक–गायिकाले स्वर दिएका थिए।

bhaesan 2


यसका अतिरिक्त उनका फुटकर गीतहरूमा समेत नेपालका चर्चित गायक–गायिकाले स्वर दिएका छन्। गीतसंगीतसँगै बर्देवा फेसन डिजाइन तथा सामाजिक क्षेत्रमा पनि सक्रिय थिए।


इटहरीको विराटनगर लाइनमा रहेको एन्जल टेलर्सका सञ्चालकसमेत रहेका बर्देवा पूर्वी नेपालमा फेसन डिजाइनका क्षेत्रमा लामो समयदेखि सक्रिय थिए। उनको एन्जल टेलर्सबाट विभिन्न क्षेत्रका सार्वजनिक व्यक्तित्वहरूले पहिरन तयार गराउने गरेका थिए।



‘इटहरी रत्न’ भन्दै सांसद परियारले गरे स्मरण


बर्देवाको निधनप्रति सांसद प्रकाशचन्द्र परियारले गहिरो दुःख व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै परियारले बर्देवालाई *‘इटहरी रत्न’*का रूपमा स्मरण गरेका छन्।


बर्देवाको अप्रत्याशित निधनको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै परियारले उनको मिलनसारिता, सदाशयता र सहयोगी भावनाले भरिएको सरल व्यक्तित्वको क्षतिले आफूलाई थप मर्माहत बनाएको बताएका छन्।


परियारले पूर्वी नेपालको ‘गेटवे’का रूपमा परिचित इटहरीमा हुने ठूला कार्यक्रम तथा सांगीतिक गतिविधिमा बर्देवाको आतिथ्य र सक्रियतालाई स्मरण गरेका छन्।


“नीर शाहदेखि यशकुमारसम्म, सीके श्रेष्ठदेखि हरिवंश आचार्यसम्म पूर्वी नेपालको ‘गेटवे’ इटहरीमा भाइसन दाइको चिया निम्तो नमानी सायदै कोशी प्रदेशको भव्यतम कार्यक्रम सम्पन्न भए होला,” परियारले लेखेका छन्।

p 222


उनका अनुसार बर्देवा कलाचेतका धनी, समाजसेवी, गीतकार तथा निर्माता मात्र नभई पूर्वी नेपालबाट राष्ट्रिय जीवनमा स्थापित फेसन डिजाइनरसमेत थिए।


परियारले बर्देवासँग जोडिएको इटहरीको पुरानो सामाजिक परिवेशलाई समेत स्मरण गरेका छन्। कुनै समय इटहरीमा जय नेपाल होटल, एन्जल टेलर्स र रामकुमार सुब्बाको निवासलाई जोडेर हुने चर्चाको प्रसंग उल्लेख गर्दै उनले बर्देवाको सामाजिक सम्बन्ध र सक्रियतालाई सम्झिएका छन्।

संगीतकर्मी राजु केसीसँग बर्देवाको बाल्यकालदेखिको मित्रताको प्रसंग उल्लेख गर्दै परियारले आफू पनि सामाजिक तथा साहित्यिक क्षेत्रबाट बर्देवाको सान्निध्यमा पुगेको बताएका छन्।


उनले सीके श्रेष्ठले बर्देवा, राजु केसी र आफूलाई जोडेर प्रयोग गरेको ‘भाइराजुप्रकाश’ शब्दसमेत स्मरण गरेका छन्।


परियारले बर्देवा पूर्वी नेपालको सार्वजनिक जीवनसँग निकै नजिक रहेको उल्लेख गर्दै लेखेका छन्, “पूर्वी नेपालमा कोही मान्छे सार्वजनिक क्षेत्रको बहुकोणप्रति अचाक्ली मरिहत्ते गर्छ भने भाइसन दाइलाई नभेटी, चिया नखाई सायदै गोडाफाडेन होला।”


बर्देवाको असामयिक निधनप्रति भावुक हुँदै परियारले नारायण गोपालको गीतको भावसमेत स्मरण गरेका छन्। उनले मृत्यु सत्य भए पनि बर्देवाजस्तो व्यक्तिको बैँसमै भएको निधनले आफूलाई निकै मर्माहत बनाएको उल्लेख गरेका छन्।


अन्त्यमा उनले “अलविदा भाइसन दाइ, सदा मनमा रहनु हुनेछ” भन्दै बर्देवाप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन्।


भारतमा उपचारपछि घर फर्कने क्रममा निधन


बर्देवा मृगौला र मुटुसम्बन्धी समस्याका कारण भारतको भेल्लोरमा उपचाररत थिए। उपचारपछि घर फर्कने क्रममा अचानक गम्भीर बिरामी भएपछि उनको निधन भएको केसीले जानकारी दिए।


भारतबाट ल्याइएको उनको पार्थिव शरीर आइतबार बिहान करिब ३ बजे विराटनगरस्थित विराट टिचिङ अस्पतालमा राखिएको थियो।


परिवारका अनुसार बेलायतमा रहेका उनका कान्छा छोरा आइतबार साँझसम्म इटहरी आइपुग्नेछन्। त्यसपछि सोमबार धार्मिक तथा पारिवारिक विधिअनुसार अन्तिम संस्कार गरिनेछ।


बर्देवाको पार्थिव शरीरलाई सोमबार बिहान संगीत साधना प्रतिष्ठान नेपालको परिसरमा करिब डेढ घण्टा राखेर श्रद्धाञ्जली अर्पण गरेपछि इटहरीको बूढीखोला स्थित गंगा–जमुना मुक्तिघाटमा अन्तिम संस्कार गरिने केसीले जानकारी दिए।


बर्देवाको निधनपछि सांसद परियारले इटहरी चोकमा महावीर पुनलाई सम्मान गरिएको कार्यक्रममा बर्देवासँग खिचिएको तस्बिरसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।


गीत, संगीत, फेसन, सामाजिक सेवा र इटहरीको सार्वजनिक जीवनमा लामो समय सक्रिय रहेका बर्देवाको निधनसँगै इटहरीले कला र सामाजिक क्षेत्रमा सक्रिय एक बहुआयामिक व्यक्तित्व गुमाएको उनका सहकर्मी तथा शुभेच्छुकहरूले बताएका छन्।