पक्राउ पुर्जी जारी भएको लामो समयसम्म पनि आरोपित पक्राउ नपरेको भन्दै प्रश्न, घटनाको निष्पक्ष अनुसन्धान र पीडितलाई न्याय दिलाउन पहल गर्ने पुष्पराज थापाको प्रतिबद्धता


इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ९ मा कार्यरत इन्जिनियर एलिना अधिकारीमाथि आफ्नै कार्यकक्षमा भएको कुटपिटको घटनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इटहरी उपमहानगर समितिले चासो देखाएको छ। घटना भएको ३२ दिनपछि मंगलबार रास्वपा इटहरी उपमहानगर समितिका सभापति पुष्पराज महेश थापासहितको टोलीले एलिनाका श्रीमान् सुवास कठेतसँग भेट गरी घटनाको विस्तृत विवरण लिएको हो।


भेटका क्रममा थापाले घटनाको मुख्य कारण, आरोपित इन्जिनियर भवेन्द्र चौधरीसँगको विवाद, एलिनाको सरुवा, इटहरी उपमहानगरपालिकाको भूमिका, प्रहरी अनुसन्धान र पक्राउ पुर्जी जारी भएपछि पनि आरोपित पक्राउ नपरेको विषयमा जानकारी लिएका थिए।


एलिना अधिकारीमाथि गत भदौ २५ गते आफ्नै कार्यकक्षमा इटहरी उपमहानगरपालिकाको योजना शाखामा कार्यरत इन्जिनियर भवेन्द्र चौधरीले कुटपिट गरेको आरोप छ। घटनापछि चौधरी फरार रहेको र हालसम्म पक्राउ नपरेको पीडित परिवारको भनाइ छ।


कुटपिटपछि अस्पतालमा उपचार गराएकी एलिनाले भदौ २७ गते प्रमाणसहित इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन्। उक्त उजुरीका आधारमा असोज ५ गते चौधरीविरुद्ध पक्राउ पुर्जी जारी भएको पीडित परिवारले जनाएको छ। यद्यपि, पक्राउ पुर्जी जारी भएको लामो समय बितिसक्दा पनि उनी पक्राउ नपरेको विषयमा परिवारले प्रश्न उठाएको छ। चौधरीलाई जोगाउन सबै योजना अनुसार लागि परेको उनले दावी गरे ।

उनलाई सिँधै अदालत उपस्थित गराई धरौटी छुटाउन केही व्यक्तिहरु लागि परेको उनले बताए । उनले इन्जिनियर चौधरी असल र अधिकारी खराब भन्ने स्थापित गर्न अनेक खालका हल्लाहरु बजारभरी फैलाएको पनि दावी गरे । 


‘गल्ती भयो, माफ गरिदिनुहोस्’ भन्दै सन्देश पठाएको दाबी


पीडित परिवारका अनुसार घटना भएपछि चौधरीले एलिना र उनका श्रीमान् सुवासलाई ह्वाट्सएपमार्फत सन्देश पठाएका थिए। सन्देशमा आफूबाट गल्ती भएको भन्दै माफी मागेको र घटनालाई बिर्सिदिन आग्रह गरेको परिवारको दाबी छ।

11 1


22

सुवासका अनुसार मुद्दा अघि बढिसकेपछि पनि चौधरीले आफूलाई पटकपटक माफी माग्दै सन्देश पठाएका थिए। घटनाअघि पनि एलिनालाई यस्तै प्रकृतिका सन्देश पठाइएको उनको भनाइ छ। हाल चौधरी इटहरी क्षेत्रमा नरहेको जानकारी आफूहरूले पाएको पनि सुवासले बताएका छन्। प्रहरीलाई पटक पटक भन्दा उनको मोबाईलको लोकेशन नै नभेटेको भन्ने जवाफ मात्र आउने गरेको सुवासले बताए । 


योजनामा अनियमितताको विषय उठाउँदा विवाद भएको परिवारको दाबी


सुवासका अनुसार घटनाको पृष्ठभूमिमा योजनाका नाममा खाजा खर्चलगायत विभिन्न शीर्षकमा रकम उठाउने विषय जोडिएको छ। उनका दाबीमा चौधरीले एलिनाको नामसमेत जोडेर विभिन्न योजनामा रकम लिने गरेको र यस विषयमा एलिनाले असन्तुष्टि जनाउँदै पटकपटक सचेत गराएकी थिइन्।

एलिनाले समेत वडाअध्यक्ष जितेन्द्र थापालाई पनि योजनाका ठेकेदारसँग आफ्नो नाम समेत लिएर चौधरीले खाजा खर्च भन्दै रकम लिने गरेको भन्दै जानकारी गराएकी थिइन् । थापाले पनि एलिनाले एक पटक विद्यालय भवन निर्माणका ठेकेदारसँग रकम लिएको भन्ने जानकारी दिएको साँचो भएको बताएका छन् । 


उक्त विषयमा प्रश्न उठाउँदा चौधरीले उल्टै हप्कीदप्की गर्ने गरेको र त्यसैलाई लिएर दुई जनाबीच विवाद बढेको सुवासको भनाइ छ। विवादकै बिच एलिनाको वडा नम्बर ९ बाट ३ नम्बरमा सरुवा भएको थियो । खाजा खर्च भन्दै एलिनाको समेत नाममा   लिइने गरेको घुस र त्यसरी आफ्नो नाम नबेच्न एलिनाले पटक पटक गरेको आग्रहपछि उनको कर्मचारी प्रशासन शाखाले सरुवा गरेको थियो ।

झोकिएर एलिनाको कार्यकक्षमा पुगेका चौधरीलाई आफ्नो गल्ती विना किन सरुवा गरेको भन्दा भवेन्द्रले विवाद गरेका थिए । विवादका बिच एलिनालाई मनपरी गाली गर्दै दुई झापड हानेका थिए । एलिनाले आफ्नो बच्चालाई अटिजम भएको र पारिवारिक परिस्थितिका कारण आफूलाई सोही क्षेत्रमा बस्न सहज हुने बताएकी थिइन् । 


घटनाका बेला कार्यालयमा एलिनासहित अर्की एक महिला प्राविधिकसमेत रहेको र ती महिला बाहिरिएको करिब पाँच मिनेटपछि चौधरीले एलिनामाथि हातपात गरेको सुवासको भनाइ छ। 


वडा कार्यालयका दुई फरक पत्रबारे पनि प्रश्न


रास्वपा नगर सभापति थापासँगको भेटमा सुवासले घटनापछि वडा नम्बर ९ बाट तयार गरिएका दुई फरक विवरणका पत्रबारे पनि जानकारी गराएका थिए।


उनका अनुसार घटनाका बिषयमा फरक फरक तरिकाबाट  विवरण राखेर दुईवटा पत्र तयार गरिएको पाइएको छ । सुरुमा बनाइएको पत्र वडा कार्यालयमै लुकाइएको थियो भने पछि इन्जिनियर चौधरीको बचाउ गर्ने खालको व्यहोराको पत्र इटहरी उपमहानगरपालिका पठाइएको पाइएको छ । 

itahari 9 -1

itahari 9.2

पत्रहरूमा फरक विवरण किन तयार गरियो र कुन विवरणका आधारमा उपमहानगरपालिकालाई जानकारी गराइयो भन्ने विषयमा निष्पक्ष छानबिन हुनुपर्ने पीडित परिवारको माग छ। 


घटनाको भोलिपल्ट वडा कार्यालयले छलफलका लागि बोलाएको भए पनि चौधरीले आफ्ना बुवाको शल्यक्रियाको कारण देखाउँदै बैठकमा सहभागी नभएको सुवासले बताए।

न्यायका लागि पहल गर्ने रास्वपा नगर सभापति थापाको प्रतिबद्धता


रास्वपा इटहरी उपमहानगर समितिका सभापति पुष्पराज महेश थापाले उपमहानगरपालिकाभित्र एक कर्मचारीले अर्का कर्मचारीमाथि कुटपिट गरेको विषयलाई गम्भीर रूपमा लिएको बताए।


थापाले घटनाको वास्तविकता पत्ता लगाउन, प्रहरी अनुसन्धानको अवस्था बुझ्न, पक्राउ पुर्जी जारी भएपछि पनि आरोपित पक्राउ नपर्नुको कारणबारे जानकारी लिन र उपमहानगरपालिकाको भूमिकाको समीक्षा गर्न आवश्यक रहेको बताए।


उनले महिला कर्मचारीमाथि भएको भनिएको कुटपिटको घटनामा पीडितले न्याय पाउनुपर्ने उल्लेख गर्दै यस विषयलाई माथिल्लो तहसम्म पुर्‍याउने प्रतिबद्धता जनाए। आफ्नो तर्फबाट सम्भव भएसम्म पहल गरेर पीडितलाई न्याय दिलाउन लागिपर्ने उनको भनाइ छ।