इटहरीः सुन्दर सहरको पहिचान बनाएको धरान उपमहानगरपालिकाले व्यवस्थित डम्पिङ साइट नहुँदा सेउती खोला किनारको जंगलमा फोहोर व्यवस्थापन गर्दै आएको छ। फोहोर व्यवस्थापनका लागि २०७८ सालदेखि धरान–६ मा सञ्चालनमा ल्याइएको फोहोर प्रशोधन केन्द्र तीन वर्षपछि बन्द भयो। प्रशोधन केन्द्र बन्द भएपछि धरानको फोहोर पुरानै स्थान सेउती खोला किनारको जंगलमा फाल्न थालिएको हो। फोहोरबाट ग्यास र मल उत्पादन गर्न प्रशोधन केन्द्र स्थापना गरिएको थियो।
नगर क्षेत्रबाट दैनिक संकलन हुने फोहोर सिधै वनमा फाल्दा वातावरण प्रदूषण बढ्नुका साथै वन्यजन्तुलाई समेत गम्भीर असर पुगिरहेको छ। फोहोरकै कारण बेलाबेला सामुदायिक वन र उपमहानगरपालिकाबिच विवादसमेत हुने गरेको छ। २०८१ सालमा गरिएको सर्वेक्षणअनुसार धरानमा दैनिक ३० देखि ४० टन फोहोर संकलन हुने गरेको छ।
उपमहानगरले वडा नं २० र ४ मा पर्ने माथिल्लो पहाडी भाग र वडा नं १७ स्थित सर्दु खोलाको पश्चिमपट्टिको बस्तीबाहेक अन्य क्षेत्रको फोहोर संकलन गरी व्यवस्थापन गर्दै आएको छ। तीन वटा वडाको फोहोर त्यही नै व्यवस्थापन गरिन्छ।
उपमहानगरपालिकाका वरिष्ठ वातावरण अधिकृत भेषराज घिमिरेका अनुसार डम्पिङ साइट नहुँदा बाध्य भएर जंगलमा फोहोर फाल्नुपरेको हो। पछिल्लो समय फोहोरमा प्लास्टिकको मात्रा बढ्दै जाँदा समस्या थपिएको पनि उनले बताए। ‘विगत १० वर्षअघि कुल फोहोरको १० प्रतिशत प्लास्टिक हुने गर्थ्यो। अहिले कुल फोहोरको २५ प्रतिशत प्लास्टिक हुने गरेको छ,’ उनले भने।
प्लास्टिकको फोहोर पुनः प्रयोग गर्न नसक्दा व्यवस्थापनमा थप समस्या हुने गरेको उनको भनाइ छ। केही वर्षअघिसम्म कवाडीले सिसाका बोतल खरिद गर्ने गरेकाले फोहोरमा कम मात्रामा फालिन्थ्यो तर पछिल्लो समय त्यस्ता बोतल बिक्री हुन छाडेपछि त्यसलाई फोहोरमै फाल्ने गरिएको छ। यसले सिसाबाट चोटपटक लाग्ने जोखिमसमेत बढाएको घिमिरेले बताए।
धरानमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेकाले त्यहाँबाट निस्कने सिरिन्जसमेत कतिपयले सामान्य फोहोरमा मिसाएर फाल्ने गरिएको छ। यसले फोहोर संकलन र व्यवस्थापनमा थप जोखिम निम्त्याएको छ।
सेउती किनारमा थुपारिएको फोहोरलाई बेलाबेला माटोले पुर्ने गरिएको छ तर फोहोरबाट उपयोगी सामग्री टिप्न आउनेहरूले ठुलो थुप्राबाट फोहोर निकाल्न कठिन भएपछि आगो लगाउने गरेका छन्। त्यसले गर्दा जंगलमा डढेलो फैलिने जोखिम पनि उत्तिकै छ। फोहोरमा आगो लाग्दा निस्कने धुवाँ जमिनको सतहमा फैलिने भएकाले कोसी राजमार्गमा यात्रा गर्नेहरू प्रभावित हुने गरेका छन्।
कुनै बेला फोहोर फालिएको स्थानमा लागेको आगो निभिसकेपछि पनि केही दिनसम्म भित्रभित्रै धुवाँ आइरहने गर्थ्यो। यसले वातावरणमा गम्भीर असर पुर्याएको भन्दै स्थानीयले गुनासो गर्दै आएका छन्। ‘धरानमा सड्ने र नसड्ने फोहोर छुट्याउन बजार क्षेत्रमा खाली जग्गासमेत छैन,’ अधिकृत घिमिरेले भने।
धरानमा फोहोर वर्गीकरण गर्ने स्थानको अभाव प्रमुख समस्या बनेको उनको भनाइ छ। बजार क्षेत्रमा थोरै मात्र खाली जग्गा उपलब्ध भए र फोहोर छुट्याएर व्यवस्थापन गर्न सके ठुलो उपलब्धि हुने उनले बताए। धरानको फोहोर सेउती किनारमा फाल्दा वर्षायाममा आउने बाढीले बगाएर दक्षिणतर्फ रामधुनी नगरपालिका–६ र ७ का किसानका खेतबारीसम्म पुर्याउने गरेको छ। प्लास्टिकसँगै सिरिन्जसमेत खेतमा पुग्दा किसानले समस्या भोग्दै आएका छन्।
प्रशोधन केन्द्र बन्द, फोहोरको समस्या उस्तै
धरानको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न वडा नं ६ मा फोहोरबाट ग्यास र मल उत्पादन गर्ने प्रशोधन केन्द्र निर्माण गरिएको थियो।
भेन्चर वेस्ट टु इनर्जीले निर्माण गरेको उक्त केन्द्र केही समय सञ्चालन भएर बन्द भयो। ‘फोहोर प्रशोधन केन्द्र नियमित रूपमा चलेको भए धरानमा फोहोरको समस्या आउने नै थिएन,’ वरिष्ठ वातावरण अधिकृत घिमिरेले भने, ‘अब विकल्प नभएपछि जसरी फोहोर फालिएको छ, त्यसरी नै व्यवस्थापन गर्नुपर्ने बाध्यता छ।’
प्रशोधन केन्द्र सञ्चालनमा आएपछि उत्पादन हुने ग्यासबाट धरानका टेम्पो चलाउने योजना बनाइएको थियो। त्यसका लागि २५ वटा अटो टेम्पोमा कन्भर्जन किट जडान गरी पेट्रोल र ग्यास दुवैबाट चल्ने गरी परीक्षणसमेत गरिएको थियो।
परीक्षण सफल भएपछि भोटेपुल क्षेत्रमा ग्यास रिफिल स्टेसन पनि निर्माण गरिएको थियो तर कोसी अञ्चल यातायात व्यवस्था सेवा कार्यालय इटहरीले टेम्पोमा ग्यास जडान गरी चलाउन अनुमति नदिँदा समस्या भएको कम्पनीका संस्थापक विपुलराज पाण्डेले बताए।
उत्पादित ग्यास बिक्री गर्न नपाएपछि प्रशोधन केन्द्र बन्द गर्नुपरेको उनको भनाइ छ। उनका अनुसार आवश्यक प्रक्रिया पूरा गरेर केन्द्र पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। ‘प्रक्रिया पूरा गर्ने काम भइरहेको छ। सञ्चालन जसरी पनि हुन्छ। भरसक तीन महिनाभित्रै, नभए ६ महिनाभित्र सुरु गर्ने योजनामा छौं,’ उनले भने।
कोसी अञ्चल यातायात व्यवस्था सेवा कार्यालय, इटहरीका प्रमुख मानबहादुर देवकोटाका अनुसार संघीय र प्रदेश कानुनबिच तालमेल नमिलेकाले टेम्पोमा ग्यास जडान गर्न अनुमति दिन समस्या भएको हो। यातायात व्यवस्था विभागबाट आवश्यक प्रक्रिया पूरा गरेर आए भने अनुमति दिन समस्या नहुने उनले बताए।
प्रशोधन केन्द्रमा करिब २४ करोड रुपैयाँ लगानी गरिएको थियो। त्यसमा नेपाल सरकारको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र विश्व बैंकबाट सात करोड रुपैयाँ अनुदान उपलब्ध गराइएको थियो। २० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी केन्द्र निर्माण गरिएको हो। यसको क्षमता दैनिक ५० मेट्रिक टन फोहोर प्रशोधन गर्ने रहेको छ।
व्यावसायिक रूपमा ग्यास उत्पादन सुरु भएपछि कम्पनीले आम्दानीको १ प्रतिशत उपमहानगरपालिकालाई बुझाउनुपर्ने सम्झौतासमेत छ। केन्द्र निर्माणमा उपमहानगरपालिकाको लगानी थिएन। प्रशोधन केन्द्रले दैनिक दुई हजार किलो ग्यास उत्पादन गर्न सक्ने क्षमता राख्छ। यसबाट दैनिक तीन सयदेखि तीन सय ५० वटासम्म टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने कम्पनीको दाबी छ। कम्पनीले पानबारीमा एक बिघा जमिन खरिद गरेर प्लान्ट स्थापना गरेको थियो। सम्झौताअनुसार प्रशोधन केन्द्र नियमित रूपमा सञ्चालन भएको भए उपमहानगरपालिकाको वार्षिक करिब चार करोड रुपैयाँ बचत हुने थियो।
१७ बिघा जग्गाको खोजी
धरानको फोहोर व्यवस्थापन समस्या समाधान गर्न संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिरहेको छ।
धरानको फोहोर व्यवस्थापनका लागि वनकै जग्गा प्राप्त गर्नुपर्ने भएकाले केही जटिलता रहेको वरिष्ठ वातावरण अधिकृत घिमिरेले बताए। उनका अनुसार डिपिआर तयार पार्ने कामसँगै १७ बिघा जग्गाको खोजी भइरहेको छ। धरानबाट संघीय सरकारसँग पहल गर्न सके ८० करोड रुपैयाँसम्म लगानी हुने परियोजना ल्याउन सकिने उनको भनाइ छ।यो खबर आज प्रकाशित नागरिक दैनिकबाट लिइएको हो ।




















