इटहरीः  किप इटहरी क्लिन अभियानका अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पहिलो साहित्यिक कृति ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ। इटहरीस्थित संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा आयोजित साहित्यिक समारोहमा कवि, लेखक तथा साहित्यप्रेमीहरूको उपस्थितिमा कृति सार्वजनिक गरिएको हो।


संगीत साधना प्रतिष्ठान नेपालका अध्यक्ष प्रदीप रेग्मीको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य सृष्टि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिल र अध्यक्ष रेग्मीले संयुक्त रूपमा पुस्तक लोकार्पण गरेका थिए।


लेखक थापाका जीवनानुभव, सामाजिक परिवेश र विविध घटनाक्रममा आधारित कृतिले जीवन र समाजभित्र लुकेका प्रश्नमाथि पाठकलाई चिन्तन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सामाजिक अभियानमा सक्रिय रहँदै आएका थापाको साहित्यिक क्षेत्रमा प्रवेशलाई सहभागीहरूले सिर्जनात्मक यात्राको नयाँ सुरुवातका रूपमा लिएका थिए।


कार्यक्रममा वरिष्ठ कवि मनु मञ्जिलले कृतिको विषयवस्तुमाथि चर्चा गर्दै साहित्यिक यात्राको सुरुवात गरेका थापालाई बधाई तथा आगामी लेखनका लागि शुभकामना व्यक्त गरे। आफ्ना भोगाइ, अनुभूति र विचारलाई साहित्यका माध्यमबाट पाठकमाझ प्रस्तुत गर्नु लेखकीय यात्राको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ थियो।


कृतिमाथि समीक्षा प्रस्तुत गर्दै कवि तथा लेखक टीका आत्रेयले थापाले आफ्ना जीवनभोगाइलाई संस्मरणात्मक शैलीमा अभिव्यक्त गरेको बताइन्। पूर्वी नेपालको सामाजिक परिवेशसँग निकट रहेको कृतिमा जीवनका प्रश्न, अनुभव र बलियो जगको महत्त्वलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको उनले उल्लेख गरिन्।


त्यसैगरी, समीक्षक राम खरेलले समाजका सामान्य पात्रहरूको महत्त्व, योगदान र जीवनका कथालाई सरल भाषामा प्रस्तुत गर्नु कृतिको विशेषता रहेको बताए। समाजका हरेक व्यक्तिका अनुभव र योगदान साहित्यका विषय बन्न सक्ने उल्लेख गर्दै उनले लेखक थापालाई आगामी साहित्यिक यात्राका लागि शुभकामना दिए।


कार्यक्रममा वरिष्ठ पत्रकार हिमाल दाहालले लेखक थापासँग पुस्तक लेखनको प्रक्रिया, जीवनका अनुभव र कृतिमा समेटिएका विषयवस्तुबारे संवाद गरेका थिए। उक्त संवादले लेखकको लेखकीय दृष्टिकोण र कृतिको पृष्ठभूमिबारे थप प्रकाश पारेको थियो।


संगीत साधना प्रतिष्ठान नेपालका महासचिव राजु केसीले स्वागत मन्तव्य राख्दै थापाले आफ्ना जीवनभोगाइ र अनुभवलाई संस्मरणका रूपमा कृतिमा समेटेको बताए। कुनै समय ‘क्लिन इटहरी’ अभियानमा सक्रिय रहेका थापाले सामाजिक जीवनका विभिन्न पक्षलाई साहित्यिक अभिव्यक्तिमार्फत प्रस्तुत गरेको उनको भनाइ थियो।


नाट्यकर्मी सोनु जयन्तीले सहजीकरण गरेको कार्यक्रममा साहित्य, कला तथा पत्रकारिता क्षेत्रका व्यक्तित्वसँगै लामो समयदेखि फोहोरमैला व्यवस्थापन र वातावरण संरक्षणमा सक्रिय किप इटहरी क्लिन ९प्क्ष्ऋ० अभियानमा आबद्ध अभियन्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।


व्यक्तिगत अनुभूति र सामाजिक यथार्थलाई लेखनमार्फत अभिव्यक्त गरिएको ‘प्रश्न अझै बाँकी छ’ ले पाठकलाई आफ्नो जीवन, समाज र समयलाई नयाँ दृष्टिले हेर्न तथा अनुत्तरित प्रश्नहरूको खोजी गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। सामाजिक अभियानमा सक्रिय थापाको यो कृतिले उनको अनुभव र विचारलाई साहित्यिक माध्यमबाट पाठकमाझ पुर्‍याउने प्रयास गरेको छ।