इटहरीः छठ पर्व नजिकिएसँगै तराई–मधेसमा बाँसबाट बनेका ढाकी, पंखालगायतका सामग्रीको माग बढ्ने गर्छ। छठ पर्वमा पूजाका सामग्री राख्न प्रयोग गरिने बाँसका ढाकी परम्परागत रूपमा मलिक समुदायले बनाउँदै आएका छन्। तर, पछिल्लो समय बाँसको मूल्य वृद्धि, बजारमा सस्तो सामग्रीको खोजी र उचित मूल्य नपाउँदा यो परम्परागत पेसा संकटमा पर्दै गएको छ।

सुनसरीको इटहरी ५ पचरुखीस्थित मल्लिक बस्तीका स्थानीय जानकी मल्लिक वर्षौंदेखि बाँसका सामग्री बनाउँदै आएकी छन्। उनले आफ्नो परिवारको जीविकोपार्जनका लागि बाँसबाट ढाकी, पंखालगायतका सामग्री बनाउने गरेकी छन्। मल्लिक बस्तीका आठ घरपरिवारले नै बाँसका सामग्री बनाउने पेसा अपनाउँदै आएका छन्।

जानकीका अनुसार यो पेसा उनीहरूको समुदायको परम्परासँग जोडिएको छ। पुस्तौँदेखि चल्दै आएको यो काम उनीहरूको आम्दानीको मुख्य स्रोतसमेत हो। तर, अहिले यसबाट परिवारको खर्च धान्नसमेत कठिन हुँदै गएको उनी बताउँछिन्।

‘बाबु, अहिले के भन्नु बाँस नै महँगो छ। हामी एउटा बाँस किन्न चार सय रुपैयाँ खर्च गर्छौँ। तर, व्यापारीले एक सय वा डेढ सय रुपैयाँमा ढाकी दिनुपर्छ भन्छन्। यति सस्तोमा बेच्दा हामीलाई केही पनि फाइदा हुँदैन,’ जानकीले भनिन्।

daki


उनका अनुसार बाँस काटेर ल्याउने, त्यसलाई चिर्ने र सामग्री तयार पार्ने काममा धेरै समय र मेहनत लाग्छ। एउटा व्यक्तिले दिनभरि मेहनत गर्दा छठ पर्वका लागि करिब १० वटासम्म ढाकी बनाउन सक्ने उनी बताउँछिन्।

परम्परासँग जोडिएको पेसा, तर आम्दानीको संकट

मल्लिक समुदायका लागि बाँसका सामग्री बनाउनु केवल आम्दानीको माध्यम मात्र नभई परम्परासँग जोडिएको पेसासमेत हो। जानकीका अनुसार बाँसबाट सामग्री बनाउँदा उनीहरूले आफ्नो परम्परागत विधि र नियमको पालना गर्दै आएका छन्।

उनले बाँसबाट ढाकी, पंखा तथा अन्य आवश्यक सामग्री बनाउने गरेको बताइन्। छठ पर्वका लागि विशेष रूपमा तयार पारिने ढाकीको माग पर्वको समयमा हुने गरे पनि त्यसबाट अपेक्षित आम्दानी हुन नसकेको उनको गुनासो छ।


malik basti

छठ पर्वमा बाँसबाट बनेका सामग्रीको धार्मिक तथा सांस्कृतिक महत्त्व छ। पूजाका सामग्री राख्न बाँसका ढाकी प्रयोग गर्ने परम्परा रहेकाले यस्ता सामग्रीको आवश्यकता अझै कायम छ। तर, बजारमा उपभोक्ताले सस्तो मूल्य खोज्ने प्रवृत्तिले परम्परागत सामग्री बनाउने परिवार समस्यामा परेको जानकीको भनाइ छ।

 विदेशी सामग्रीको प्रभाव र बजारको चुनौती

बजारमा भारत तथा चीनबाट आउने सामग्रीले पनि परम्परागत हस्तकलाको बजारमा प्रतिस्पर्धा बढाएको छ। तर, जानकीका अनुसार उनीहरू व्यापारी नभई आफैँ सामग्री बनाएर बेच्ने श्रमिक हुन्। कच्चा पदार्थ महँगो हुँदा पनि आफ्नो उत्पादनको उचित मूल्य पाउन नसक्नु उनीहरूको मुख्य समस्या हो।

‘हामी गरिब मान्छे हौँ। बाँस किनेर ल्याउँछौँ, आफैँ बनाउँछौँ र आफैँ बेच्छौँ। यही काम गरेर खान्छौँ,’ उनले भनिन्।

dhaki 2


बाँसका सामग्री बनाउन लाग्ने समय, श्रम र कच्चा पदार्थको लागतअनुसार मूल्य नपाउँदा नयाँ पुस्तालाई समेत यो पेसामा आकर्षित गर्न कठिन हुने देखिएको छ।

 स्थानीय सरकारको सहयोगको अपेक्षा

परम्परागत पेसालाई व्यावसायिक रूपमा विस्तार गर्न स्थानीय सरकार र सम्बन्धित निकायले सहयोग गर्नुपर्ने जानकीको अपेक्षा छ। स्थानीय सरकारले कच्चा पदार्थको व्यवस्थापन, उत्पादनको उचित मूल्य निर्धारणमा सहजीकरण तथा बजार प्रवर्द्धनमा सहयोग गरे यो पेसालाई निरन्तरता दिन सकिने उनको विश्वास छ।

तर, अहिलेसम्म आफूहरूले अपेक्षित सहयोग नपाएको उनको गुनासो छ।

पचरुखीको मल्किक बस्तीमा रहेका आठ घरपरिवारले गर्दै आएको यो पेसा स्थानीय हस्तकला, संस्कृति र परम्पराको महत्त्वपूर्ण हिस्सा हो। समयमै संरक्षण र प्रवर्द्धन गर्न नसकिए पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सीप लोप हुने जोखिमसमेत बढ्न सक्छ।

WhatsApp Image 2026-10-25 at 11.17.21


छठ पर्वमा बाँसका सामग्रीको माग हुने भए पनि ती सामग्री बनाउने समुदायले उचित मूल्य र बजार नपाउनु विडम्बनापूर्ण अवस्था हो। त्यसैले परम्परागत सीपको संरक्षणसँगै यसमा संलग्न परिवारको जीविकोपार्जन सुनिश्चित गर्न स्थानीय सरकार, सरोकारवाला निकाय र उपभोक्ताले ध्यान दिन आवश्यक देखिन्छ।