काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा नेपाली क्रिकेटलाई शुभकामना दिएका छन्। उनले अन्तर्राष्ट्रिय खेलाडी, कमेन्टेटर, नेपाली खेलाडी, आयोजक तथा नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिँदै नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेका हुन्।
प्रधानमन्त्री शाहले सोमबार केही बेरअघि आफ्नो फेसबुक पेजमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै एनपीएल केही वर्षमै नेपालको सबैभन्दा ठूलो खेलकुद आयोजनाका रूपमा स्थापित हुँदै गएको उल्लेख गरेका छन्।
उनले एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवका रूपमा चित्रण गर्दै यसले छोटो समयमै उल्लेखनीय उचाइ हासिल गरेको बताएका छन्।

प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन नेपाल आएका अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरलाई स्वागतसमेत गरेका छन्। उनले नेपाली खेलाडी, प्रतियोगिताका आयोजक र नेपाल क्रिकेट संघलाई सफल आयोजनाका लागि शुभकामना दिएका छन्।
उनले आफ्नो सन्देशमा नेपाली क्रिकेटको विकास र सफलताको कामना गर्दै ‘नेपाली क्रिकेट अमर रहोस्’ भन्ने भाव व्यक्त गरेका छन्।
एनपीएलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन, स्वदेशी खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर दिन तथा क्रिकेटप्रति आम नागरिकको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ।
प्रधानमन्त्री शाहको शुभकामना सन्देशले एनपीएलप्रति सरकारको उच्च तहबाट देखाइएको चासोसमेत झल्काएको छ। प्रतियोगिताले नेपाली क्रिकेटको विकासमा थप योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















