बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन मोरङको आयोजनामा मङ्गलबार प्याब्सन स्पोर्टस् मिट शुरु भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित लक्ष्मी खेल मैदानमा शुरु भएको स्पोर्टस् मिटमा मोरङका ८४ वटा निजी विद्यालय सामेल छन् ।
प्रतियोगितामा १ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ । ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा मङ्गलबार पहिलो चरणका खेल सम्पन्न भएका छन् ।
१ सय मिटर, २ सय मिटर, ४ सय मिटर र ८ सय मिटरका दौड सम्पन्न भएका छन् । त्यस्तै, लङ जम्प, ज्याब्लिङ थ्रो, भलिबललगायतका प्रतियोगिता पनि मङ्गलबार सम्पन्न भएका थिए ।
ज्याब्लिङ थ्रो खेलको छात्रातर्फ ब्राइट फ्युचर स्कुलकी वर्षा माझी पहिलो भएकी छिन् । लङ जम्पमा छात्रतर्फ भृकुटी मोडल एकेडेमीका योगेश यादव र छात्रातर्फ बालसदन एकेडेमीकी अमिसा चौधरी पहिलो भएकी छिन् ।
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
एक नम्बर प्रदेशका प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले प्रतियोगिताको उद्घाटन गरेका थिए । त्यस्तै, विशिष्ट अतिथिको रूपमा प्रदेश सभा सदस्य राजकुमार ओझा, प्याब्सन केन्द्रीय सदस्य टीकाराम पुरी, प्याब्सन प्रदेश अध्यक्ष नारायण घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
प्याब्सन स्पोर्टस् मिटमा दौड, रिले दौड, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, सटपुट ज्याब्लिङ थ्रो तथा भलिबल खेल समावेश गरिएको आयोजक प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए ।