इटहरीः स्पोर्टस सिटीको परिचय बनाउँदै गएको इटहरीमा १६ लाख राशीको फुटबल प्रतियोगिताले चहलपहल थपेको छ । उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ । अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपमा माघ १२ देखि इटहरी रङ्गशालमा ८ टिम भिड्दैछन् ।

यो प्रतियोगिताको दोस्रो संस्करण हो । अघिल्लो संस्करण भन्दा केही फरक गर्न लागेको आयोजकले मैदान व्यवस्थापन, प्याराफिट निर्माण लगायतका व्यवस्थापकीय कामलाई थप प्रभावकारी बनाएको बताएको छ ।

जिल्ला खेलकुद विकास समिति सुनसरीका अध्यक्ष अनुरोध थापाले मैदानको गुणस्तरलाई वृद्धि गरिएको जानकारी दिए । ‘खेलाडीका लागि खेलमैत्री मैदान पहिलो आवश्यकता हो’, थापाले भने, ‘यो पटक खेलमैदानलाई विशेष बनाउने प्रयास गरिएको छ ।’

खेल हुनुभन्दा धेरै दिन पहिलेदेखि इटहरी रङ्गशालाको मैदान हरियो बनाउने प्रयास जारी छ । मैदानमा दुबो उमार्नका लागि पर्याप्त पानी हाल्ने गरिएको छ भने रासायनिक मल हालेर ‘ग्रिनरी’ बढाउने कामसमेत गरिएको छ ।

kobit & anurodh pradeshportal

प्याराफिट भने अस्थायी नै
दर्शकले यस पटक पनि बाँसको अस्थायी प्याराफिटमै चित्त बुझाउनुपर्ने छ । अत्याधुनिक प्याराफिट निर्माणका लागि ३२ करोड रुपैयाँमा ठेक्का लागे पनि आगामी साल मात्र निर्माण सम्पन्न हुनेछ । तसर्थ यो खेल सिजनमा आयोजकले बाँसको व्यवस्थित प्याराफिट बनाउन लागेको हो ।
अहिले बाँसको प्याराफिट निर्माण सम्पन्नउन्मुख अवस्थामा छ । स्थायी र अस्थायी प्याराफिटमा गरी करिब ७ हजार दर्शकले प्रतियोगिता हेर्न सक्ने गरी व्यवस्था गरिँदै छ ।

खेल मैदानलाई रेखाङ्कन गर्ने काम जारी छ । सुनसरी एन्फाका अध्यक्ष केशव कार्कीका अनुसार मैदानलाई आकर्षक बनाई व्यवस्थित खेल सञ्चालन गर्न खेलमैदानको उचित रेखाङ्कन न्यूनतम आवश्यकता हो ।

एन्फा नियमअनुसार प्रष्ट रेखाङ्कन बनाउन आयोजक टिम लागि परेको छ । ‘हामीले कामलाई युद्धस्तरमा जारी राखेका छौं’, कार्कीले भने, ‘समय नजिक आइसक्दा अतिथि स्वागत र व्यवस्थापनबाहेकका काम समयअघि नै सक्ने गरी काम जारी छ ।’

एन्फा सुनसरी कोषाध्यक्ष कोबितजंग कार्कीले खेलप्रेमीको सुरक्षालाई मध्यनजर गरेर पर्याप्त स्वयम्सेवक र सुरक्षा निकायका पदाधिकारी परिचालन गर्ने जानकारी दिए । ‘हामी रङ्गशालाभित्र प्रवेश गर्ने हरेक खेलप्रेमी दर्शकको सुरक्षालाई विशेष निगरानी गर्छाैं । खेल अवधिभर उहाँहरूको सुुरक्षा हाम्रो पनि दायित्व हो,’ उनले भने ।