तस्बिरः शिशिर राई
धरानः डिपो मावि धरानको बास्केटबल कोर्टमा सम्पन्न हिसान बास्केटबल च्याम्पियनसिपको उपाधि एम्स एकेडेमी धरानले हात पारेको छ ।
हिसान स्पोर्टस मिट २०७५ अन्तर्गत बुधबार भएको बास्केटबल च्याम्पियनसिपको फाइनल खेलमा एम्सले सियोन स्कुललाई ४४–३६ अङ्कको अन्तरले पराजित गर्दै हात पारेको हो ।
खेलको प्रत्येक क्वाटरमा एम्स र सियोन स्कुलले ५–६, ११–७, ११ –६ र १७–१७ अङ्क जोडेका थिए । विजेता तथा उपविजेता टिमका खेलाडीले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष हिसान सुनसरीका उपाध्यक्ष राजकुमार राई, प्रमुख अतिथि नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा र एम्स मेघा कलेजका सञ्चालक हेमन्त भण्डारीले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयरको उपाधि एम्स कलेजका सागर राई, राइजिङ प्लेयर उपाधि एम्स कलेजका अभिमान राई र फाइनल खेलको म्यान अफ द म्याच सियोन स्कुलका शिशिर राई घोषित भएका छन् । उनीहरूले ट्रफी तथा मेडल प्राप्त गरे ।
प्रतियोगिताको समापन कार्यक्रममा जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदी, प्याब्सन सुनसरीका वरिष्ठ उपाध्यक्ष अनुप योञ्जन, रेडियो धरान रनका अध्यक्ष रोमु राईलगायतको उपस्थिति थियो ।