बेलबारीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मोरङको स्पोर्टस मिटअन्तर्गतको दोस्रो दिनको खेलसम्ममा सुन्दरहरैंचाको बालसदन एकेडेमी अगाडि देखिएको छ ।
जिल्लाभरका ८४ वटा निजी विद्यालय सामेल रहेको उक्त स्पोर्टस् मिटमा १ हजार भन्दा बढी विद्यार्थी सहभागी रहेका छन् । बुधबार सम्ममा १० वटा विद्यालयले स्वर्ण, रजत र कास्य प्राप्त गर्न सफल भएका छन् । पदक पाउने विद्यालयमा बालसदन एकेडेमीले २ स्वर्ण, १ कास्य र १ रजत पाएको छ ।
त्यस्तै, भृकुटी मोडल एकेडेमीले २ स्वर्ण, ब्राइट फ्युचरले २ स्वर्ण, पूर्वाञ्चल एकेडेमीले २ रजत र १ कास्य, युनिक एकेडेमीले १ कास्य र १ रजत पाएका छन् । त्यस्तै, सिद्धार्थ सेकेण्डरी, जुपिटर स्कुल, मुनाल आदर्श विद्या सदन र शिक्षा सदनले समान १÷१ रजत, गोदावारी विद्या मन्दिरले ३ कास्य, प्राप्त गर्न सफल भएका छन् ।
बुधबार भएको हाइजम्पमा छात्रतर्फ भृकुटी मोडलका विशाल भट्टराईले स्वर्ण, युनिक एकेडेमीका रञ्जित खवासले रजत र बालसदन एकेडेमीका अब्राहम प्रधानले कास्य पदक हासिल गरेका छन् ।
त्यसैगरी, हाइजम्पमै छात्रातर्फ बालसदन एकेडेमीकी कञ्चन कार्कीले स्वर्ण, पूर्वाञ्चल एकेडेमीकी पुष्पा सरदारले रजत र गोदावरी विद्या मन्दिरकी पूजन राईले कास्य पदक पाउन सफल भएका छन् ।
बुधबार नै भएको ८ सय मिटर दौडमा छात्रतर्फ सिद्धार्थ स्कुलका अनमोल राईले स्वर्ण, मुनाल आदर्शका सन याखाले रजत र गोदावारी विद्या मन्दिरका अधेश राईले कास्य पदक पाए । छात्रातर्फ ब्राइट फ्युचरकी शोभा कार्कीले स्वर्ण, जुपिटर स्कुलकी सीमा चौधरीले रजत र पूर्वाञ्चल एकेडेमीकी इशा घिमिरेले कास्य पदक पाउन सफल भएका छन् ।
प्याब्सन स्पोर्टस् मिटमा छात्र तथा छात्रातर्फ दौड, रिले दौड, लङजम्प, हाइजम्प, ट्रिपलजम्प, सर्टपुट ज्याब्लिङ थ्रो तथा भलिबलका खेल समावेश गरिएको आयोजक प्याब्सन मोरङले जनाएको छ ।