इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा पहिलो पटक हुने राष्ट्रिय कुस्ती प्रतियोगिताको तयारी पूरा भएको छ ।

देशका ७ प्रदेशसहित नेपाल पुलिस, नेपाल आर्मी र सशस्त्रका गरी ३ वटा विभागीय टोली तथा आयोजक कोशी गाउँपालिकाको कुस्ती टिमको सहभागितामा हुने राष्ट्रिय कुस्तीको तयारी पूरा भएको हो ।

माघ १३ र १४ गते हुने कोशी प्रथम राष्ट्रिय कुस्तीको तयारी पूरा भएको आयोजकले जनाएको छ । कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् ।

११ टिमका ५० जना कुस्ती खेलाडीले भाग लिने आयोजकले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग र संयोजनमा प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय खेलकुद परिषदका सदस्य शम्भु आचार्यले बताए ।

पहिलो पटक नेपालमा ओलम्पिक स्तरको तौल समूहमा खेलाइने आयोजकले जनाएको छ । कोशी गाउँपालिका र सृष्टि समाज स्थानीय आयोजक रहने जनाइएको छ । प्रतियोगितामा भारतका विभिन्न स्थानमा चर्चामा रहेका नेपाली कुस्ती खेलाडी देव थापा अर्थात् थापा पहलमानको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।