धरानः धरान–६ पानबारीमा जारी चौथो पानबारी भलिबल कप २०७५ को फाइनलमा आयोजक सयपत्री ब्वाइज युनियन क्लब र आमचोक गाउँपालिका भोजपुर भिड्ने भएका छन् ।
बिहीबार सम्पन्न पहिलो सेमीफाइनल खेलमा आयोजकले धरान भलिबल क्लबलाई ३–० को सेटमा पराजित गरेको थियो । आयोजकले पहिलो सेट २५–१३ को अन्तरमा सजिलै जितेको थियो भने दोस्रो सेटमा निकै प्रतिष्पर्धा भएको थियो । दोस्रो सेट आयोजकले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो भने तेस्रो सेट २५–१४ को अन्तरमा जितेको थियो । खेलको म्यान अफ द म्याच आयोजक टिमका विवश सुब्बा घोषित भएका थिए ।
बिहीबार नै सम्पन्न दोस्रो सेमीफाइनल खेलमा आमचोक गाउँपालिका भोजपुरले १ नं. प्रदेश प्रहरी रानीलाई ३–१ को सेटमा पराजित गरी फाइनलमा प्रवेश गरेको छ । पहिलो सेट २५–१७ ले जितेको भोजपुरले दोस्रो सेट २४–२६ ले हारेको थियो । तेस्रो सेटमा २५–१८ ले रानीलाई हराएको भोजपुरले चौथो २५–२१ ले जितेको थियो । खेलको म्यान अफ द म्याच रानीका युकेश मगर घोषित भएका थिए । दुवै खेलका म्यान अफ द म्याचलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
फाइनल खेल शनिबार बिहान १० बजे हुने आयोजकले जानकारी दिएको छ । खेलको विजेताले ७५ हजार नगद पुरस्कार सहित ३० तोला चाँदीको रनिङ ट्रफी प्राप्त गर्नेछ । उपविजेता हुने टिमले ४१ हजार नगद पुरस्कार प्राप्त गर्नेछ । शनिबार हुने फाइनल खेल तथा समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्ट प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।