धरान/ जेठ अन्तिम साता धरानमा हुने भनिएको इस्ट टुरिज्म मार्ट आयोजनानिम्ति नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाबीच १४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

प्रदेश १ को समग्र पर्यटन विकास तथा प्रवद्र्धन गर्न पूर्वका पर्यटन व्यवसायीको मागबमोजिम पर्यटन बोर्ड मार्टको आयोजना गर्ने तयारीमा छ । सोही मार्ट धरानमा गर्ने निर्णयसहित मार्टलाई सफल बनाउन बोर्ड र उपमहानगरबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

पर्यटन बोर्डका लेखा प्रबन्धक लेखनाथ भुषाल र धरानका मेयर तारा सुब्बा साक्षी बसेको सम्झौतापत्रमा बोर्डबाट पर्यटन बजार व्यवस्थापन तथा प्रवद्र्धन महाशाखा प्रबन्धक नवीन पोख्रेल र धरानका प्रमुख प्रशासकीय अधिकृत सुदेवकुमार पोख्रेलले हस्ताक्षर गरेका छन् ।

प्रदेश १ को पर्यटन विकासनिम्ति मार्ट आयोजना गर्न पूर्वी क्षेत्रका पर्यटन व्यवसायीले भविशकुमार श्रेष्ठको संयोजकत्वमा ९ सदस्यीय समितिसमेत गठन गरिसकेका थिए । मार्ट सञ्चालननिम्ति स्थानीयस्तरमा गर्नुपर्ने कार्य तथा व्यवस्थापनका लागि बोर्डले अनुसूची १ मा उल्लेख गरिएबमोजिम शीकर्षमा खर्च गर्न उपमहानगरलाई १४ लाख ५० हजार उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ भने अन्य शीर्षक भएमा कार्यसमितिको निर्णयबमोजिम अधिकतम् रकमको अधीनमा रही खर्च गर्न सकिनेलगायत उल्लेख छ । खर्चको स्पष्ट शीर्षक र कारण खोली माग गरेमा बोर्डले थप रकम दिनसक्ने पनि उल्लेख छ ।

मार्ट जेठ २४, २५ र २६ गते धरानमा हुने निर्णय छ । मार्ट आयोजनानिम्ति गठित समितिका संयोजक श्रेष्ठका अनुसार यो मार्ट बी टु बी अर्थात् बिजनेस टु बिजनेस हुनेछ । तीनदिने मार्टमा नेपालका विभिन्न प्रदेशका पर्यटन व्यवसायीका साथै भारत, बंगशालदेश, भुटान र चीनका उत्कृष्ट पर्यटन व्यवसायी पनि सहभागी हुनेछन् । ती पर्यटन व्यवसायीलाई प्रदेश १ का पर्यटकीय गन्तव्यबारे जानकारीका साथै स्थलगत रूपमा भ्रमण पनि गराइनेछ ।

‘पूर्व प्रदेश १ को सबै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यबारे जानकारी गराउँछौं । र, भ्रमण पनि गराउछौं,’ संयोजक श्रेष्ठले भने, ‘हामीलाई बिजनेस दिनुस् भन्छांै । पर्यटक यता पठाउनुस्, हामीले सस्तो र राम्रो सेवा दिन्छांै भन्छौं ।’

धरानमा हुन लागेको मार्ट नेपालकै दोस्रो हो । यसअघि करिब डेढ वर्षअघि काठमाडौंमा पहिलोपटक आयोजना गरेको थियो । नेपालमा काठमाडौं, पोखरा, चितवन र लुम्बिनीमा सीमित रहेको पर्यटन उद्योगलाई तीनदिने मार्टले पूर्व क्षेत्रमा पनि विस्तार गर्ने व्यवसायीको अपेक्षा छ ।

‘पूर्वमा पनि उत्कृष्ट पर्यटकीय गन्तव्य छन् । तर, यता प्याकेजमा पर्यटक आउँदैनन्, व्यवासीले पनि ल्याउँदैनन्,’ श्रेष्ठले थपे, ‘यो मार्ट भनेको व्यवसायीलाई ल्याउने र यता पनि पर्यटक पठाउनुस्, हामीसँग यी गन्तव्य छन् र यो–यो सेवा दिन्छौं भन्ने हो ।’