इटहरीः आज शुरु हुने दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उद्घाटनमा झापाली र विदेशी टोली सहभागी हुने भएका छन् । आज साढे १ बजे इटहरी रङ्गशालामा हुने उक्त खेलमा क्यामरुनको दाफिन्स फुटबल क्लब र झापाको मेची नेत्रालय काकरभिट्टा फुटबल ट्रेनिङ क्लब (केएफटीसी)ले प्रतिष्पर्धा गर्नेछन् ।
दाफिन्स गोल्डकपमा सहभागी भुटान सिएफसीपछिको एक्लो विदेशी खेलाडीले खेल्ने क्लब हो भने झापाली समूह प्रदेश १ को चिनिएको टोली हो । १६ लाख राशीको प्रथम पुरस्कार रहेको गोल्डकपमा ८ टोली सहभागी छन् । पहिलो खेल नै क्वाटर फाइनल हुनेछ र विजेता सिधै सेमीफाइनलमा प्रवेश गर्नेछ ।
कुन टोली कस्तो ? दाफिन्स भर्सेस मेची नेत्रालय केएफटीसी
दाफिन्स मध्य अफ्रिकन मुलुक क्यामरुनका शारीरिक रूपमा बलिया खेलाडीले भरिएको टोली हो । दाफिन्स नेपाली टोलीसँग खेलको त्यति धेरै अनुभव नबोकेको पाहुना टोली हो । सन् २०१४ अगाडिसम्म अफ्रिकन युनाइटेडका नाममा खेल खेले पनि दाफिन्स भने नयाँ टोली हो । शारीरिक रूपमा बलिया खेलाडी भएको, पहिलोपटक सहभागी जनाएको र राम्रा फुटबलर जन्माएको क्यामरुनको क्लब भएकाले दाफिन्सलाई कम आँक्न मिल्दैन ।
यस्तै, प्रदेश १ कै टोली मेची नेत्रालय केएफटीसी पनि राम्रो टोली हो । पहिलोपटक इटहरी गोल्डकपमा उपस्थित केएफटीसीलाई आफ्नो बलियो उपस्थिति देखाउन जित्नैपर्ने दबाब देखिन्छ । यसअगाडि खप्तड गोल्डकपमा सेमीफाइनलसम्मको यात्रा पार गरेकाले मेची नेत्रालय केएफटीसी पहिलो खेलबाटै नबाहिरिनको लागि पनि जित्नैपर्ने देखिन्छ ।
कोको सहभागी छन् गोल्डकपमा ?
इटहरी गोल्डकपमा प्रदेश १ का मेची नेत्रालय केएफटीसी क्लब झापा र आयोजक राष्ट्रिय जागृति क्लब इटहरीसँगै २ विभागीय टोली, २ नेपालका चर्चित टोली तथा २ विदेशी टोली सहभागी छन् । विदेशी टोलीमा भुटान सिएफसी र दाफिन्स क्यामरुन छन् भने त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबजस्ता विभागीय टोली पनि छन् ।
यस्तै, नेपालका स्टारक्लब मनाङमस्र्याङ्दी क्लब, पहिलो गोल्डकप विजेता थ्रीस्टार क्लब पनि इटहरीमा आजबाट शुरु हुने ७ दिने फुटबल उत्सवमा सहभागी भएका छन् ।