इटहरीः गोलरक्षक दीप कार्की नायक बन्दा इटहरीमा जारी मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा ट्रेनिङ सेन्टरले विजयी शुरुवात गरेको छ ।

राष्ट्रिय जागृति क्लबको आयोजनामा इटहरी रङ्गशालामा जारी प्रतियोगिताको पहिलो खेलमा पाहुना टोली क्यामरुनको डाउफिन्स फुटबल क्लबको चुनौती टाइब्रेकरमा ४–३ ले पन्छाउन मेची नेत्रालय सफल भयो । आजको जीतसँगै विभागीय टिम त्रिभुवन आर्मी र थ्रीस्टारबीचको विजेतासँगको भेट मेची नेत्रालयले पक्का गरेको हो ।

खेलको निर्धारित समयमा दुवै टिमबाट कुनै पनि गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा गरिएको थियो । टाइब्रेकरमा मेची नेत्रालयका गोलरक्षकले क्यामरुनको २ वटा पेनाल्टी सुटआउट बचाउ गरेका थिए । क्यामरुनी कप्तान जो एङगुला र अर्मेल आन्डाको प्रहारलाई गोलरक्षक दीपले बचाएका थिए ।

यता, मेची नेत्रालयका खेलाडी भूषण सुब्बाको प्रहार क्यामरुनी गोलरक्षक महुमा मडोउले बचाउ गरेका थिए । खेलको निर्धारित समयमा दुवै टिमले पाएका केही राम्रा अवसलाई सदुपयोग गर्न सकेनन् । अग्ला र बलिया कदका क्यामरुनी खेलाडीको सामु नेपाली टोली मेची नेत्रालय दबाबमा परेको थियो । तर क्यामरुनी डिफेन्सिङ लाइनलाई तोड्दै काकडभिट्टाले केही राम्रा ‘मुभ’हरु बनाए पनि गोलपोष्टको दिशा भने दिन सकेन ।

ad khel
पहिलो हाफमा मिसपास खेलेको क्यामरुनी टोलीले दोस्रो हाफमा भने दबाब कायम राखेको थियो । थ्रीस्टारका पूर्वकप्तान निराजन खड्कासहित मैदान उत्रिएको काँकडभिट्टाका लागि टाइब्रेकरमा निरज बस्नेत, विकास राई, निराजन खडका र गोलरक्षक दीप कार्कीले जाली चुमाए । क्यामरुनी वियाक वियाक, यानिक ओउना र जाम्मा यानिकको प्रहारले मात्र पोष्टको दिशा लियो ।

खेलमा क्यामरुनका ३ जना खेलाडीले पहेँलो कार्ड पाए भने काँकडभिट्टाका निरज बस्नेतले पहेँलो कार्ड पाएका थिए । २ वटा पेनाल्टी बचाएका गोलरक्षक कार्की म्यान अफ दी म्याच चुनिँदै नगद १० हजार प्राप्त गरे ।

खेलपछि संक्षिप्त प्रतिक्रिया दिँदै झापाका प्रशिक्षक मीन बस्नेतले विपक्षी टिमका खेलाडीले बढीजसो ‘फाउल’ खेलेका कारण अपेक्षा अनुरूपको खेल नभएको बताए । घाँसे मैदान भएका कारण केही असहज भए पनि आगामी खेलमा रणनीति परिर्वतन गर्ने उनले बताए ।

खप्तड गोल्डकपको सेमीफाइनलिष्ट मेची नेत्रालयले २ जना प्लेमेकर परिर्वतन गरेको बस्नेतले बताए । ‘टिम स्प्रिट उही हो । हामीले मिडफिल्ड र स्ट्राइकर परिर्वतन गरेका छौँ,’ उनले भने, ‘खेलमा मुख्य स्ट्राइकरको इन्जुरीको कारण जीतका लागि टाइब्रेकरसम्म पुग्नुपरेको हो नत्र हामी गेममै जित्थ्यौँ ।’

क्यामरुनी टिम डाउफिन्सका टिम कोअर्डिनेटर आशिक थापामगरले आफ्नो टिमले अपेक्षाअनुरूप प्रदर्शन गर्न नसकेको स्वीकार गरे । खेलमैदानको असहजताका कारण पनि खेलाडीले आफनो प्रदर्शन दिन नसकेको उनले बताए । ‘खप्तड गोल्डकपमा बल पोजिसन राख्न सफल भए पनि यहाँ भने विपक्षीको पोजिसन थियो’, उनले भने ।

काँकडभिट्टा यसअघि इटहरीमा नै सम्पन्न भएको १० औँ र ११ औँ संस्करणको इटहरी गोल्डकपको विजेता टोली समेत हो । यता, क्यामरुनी टोलीको नेपालमा दोस्रो सहभागिता हो ।

यसअघि डाउफिन्स टिम खप्तड गोल्डकपको आफ्नो पहिलो खेलमा शहीद स्मारक लिगको दोस्रो टोली सङ्कटासँग १–० ले हारेको थियो ।

प्रतियोगितामा भोलि लिग लिडर मनाङमस्र्याङ्दी घरेलु टोली राष्ट्रिय जागृतिसँग भिड्दै छ । मनाङमस्र्याङ्दी नेपाली राष्ट्रिय टोलीका सदस्यसहित मैदानमा उत्रँदै छ भने आयोजक जिल्लाका खेलाडीसहित मैदानमा उत्रने तयारीमा छ ।

madan bhandari cup  (2) madan bhandari cup  (4) madan bhandari cup  (6) madan bhandari cup  (3) madan bhandari cup  (1)