धरानः धरानको पानबारीमा जारी चौथो भलिबल कपको उपाधी आयोजक सयपत्री ब्वाइज युनियन क्लबले जितेको छ ।

शनिबार धरान–६ पानबारीस्थित सिमलचौरीमा सम्पन्न फाइनल खेलमा आयोजक सयपत्री क्लबले आमचोक गाउँपालिका भोजपुरलाई सोझो सेट ३–० मा पराजित गरेको हो । आमचोकलाई पहिलो सेटमा २५–१९, दोस्रो सेटमा २५–२३ र तेस्रो सेटमा २५–१९ ले पराजित गरेको हो । आयोजक क्लबले क्वाटर फाइनलमा सबुज गण इटहरी र सेमीफाइनलमा धरान भलिबल क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो ।

आमचोक गाउँपालिका भोजपुरले क्वाटर फाइनल खेलमा सशस्त्र प्रहरी बल पकली र सेमीफाइनलमा १ नं. प्रदेश प्रहरी रानीलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो ।

फाइनल खेलको म्यान अफ दी म्याच भोजपुरका रोशन बिक घोषित भए । त्यस्तै, बेष्ट स्पाइकर भोजपुरकै हरि पाण्डे, बेष्ट लिफ्टर सयपत्रीका मुस्कान लिम्बू र बेष्ट डिफेन्स सयपत्रीका वसन्त राई घोषित हुँदै नगद ५ हजार हात पारे ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी सयपत्रीका सञ्जय बुढाथोकी घोषित हुँदै नगद १० हजार प्राप्त गरे । प्रतियोगिताको उपाधी विजेता आयोजकले नगद ७५ हजार र ३० तोलाको चाँदीको ट्रफी हात पारेको छ । त्यस्तै, उपविजेता टिमले नगद ४१ हजार पाएको छ ।

प्रतियोगिताको विजेतालाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट, नेकपाका नेता रमेश बस्नेतलगायतले पुरस्कार वितरण गरेका थिए ।

panbari vollyball upadhi  (1)