इटहरीः इटहरीमा जारी मदन भण्डारी गोल्डकपमा आयोजक राष्ट्रिय जागृति क्लबका लागि प्रवेश दनुवार चुनौती बन्ने देखिएका छन् ।

गत संस्करणमा आयोजक टिमबाट खेलेका इटहरीका उत्पादन दनुवार यस संस्करणमा विपक्षी टिम मनाङ मस्र्याङ्दीबाट मैदानमा उत्रँदैछन् । गत संस्करणमा आयोजक टिम पहिलो खेलमा पराजित बने पनि उनी म्यान अफ दी म्याच चुनिएका थिए ।

मदन भण्डारी गोल्डकप फुटबलमा यी २ टोली पहिलो पटक भिड्न लागेका हुन् । इटहरी रङ्गशालामा अपराह्न्न २ बजे हुने खेलमा ७ जना राष्ट्रिय खेलाडीले भरिएको टीम आयोजकको लागि मुख्य तगारो बन्ने देखिन्छ । यस वर्षको शहीद स्मारक लिग सहित भारतको प्रतिष्ठित ३८ औँ गभर्नर्स गोल्डकप विजेता टोली मनाङ राष्ट्रिय टोलीका कप्तान विराज महर्जनको नेतृत्वमा मैदान उत्रँदैछ । उसका अन्य खेलाडीमा सुजल श्रेष्ठ, हेमन गुरुङ, विशाल राई बी, अन्जन विष्ट, कमल श्रेष्ठ र गोलरक्षक विशाल श्रेष्ठले नेपाली राष्ट्रिय सिनियर टोलीमा अनुभव बटुलिसकेका छन् । त्यसैगरी नाइजेरियन खेलाडी भिक्टोर एमोबी समेत मनाङको टोलीमा रहनेछन् ।

ad khel

यता, आयोजक टिम राष्ट्रिय जागृति ए डिभिजन क्लबका केही खेलाडीलाई समेटेर मैदानमा उत्रँदैछ । आयोजक टिम थ्री स्टारबाट भर्खरैमात्र रिलिज भएका विष्णु सुुनुवार, हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी, फ्रेन्डस क्लबका समीर राई, जावलाखेलका दिपेन तामाङ, हिमालयन शेर्पाका सञ्जु श्रेष्ठसहित मैदान उत्रने तयारीमा रहेको आयोजक क्लबका केशव कार्कीले जानकारी दिए ।

आयोजक गत संस्करणको प्रतियोगिताको क्वाटरफाइनल खेलमा भारतको गरिफा स्पोर्टिङ क्लबसँग १–० ले पराजित बनेको थियो । बुद्ध चेम्जोङ प्रेरित रुस्लान थ्रीस्टारले भने मनाङको चुनौती १–० ले पन्छाउँदै उपाधी जितेको थियो । मनाङ मस्र्याङदीका लागि गत संस्करणका उत्कृष्ट डिफेन्डर घोषित भएका कप्तान विराज महर्जन, उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ र सर्वाधिक गोलकर्ता सुजल श्रेष्ठ आयोजक टिममा रहेकाले चुनौतीका रूपमा देखिएका छन् ।