इटहरीः आयोजकको चुनौतीलाई २–१ ले पन्छाउँदै मनाङ मस्र्याङ्दी क्लब दोस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
प्रतिष्पर्धात्मक खेलको अग्रता मनाङले लिएको थियो । पहिलो हाफको ३४ औं मिनेटमा एडेलिया सोमिडेको क्रस पासमा सुजल श्रेष्ठले आफ्नो टिमको अग्रता कायम राखेका थिए । लिग लिडर मनाङको पोष्टमा निरन्तर आक्रमण बुनेको आयोजकले दोस्रो हाफको १८ औं मिनेटमा खेल बराबरीमा ल्याएको थियो ।
आयोजकका उमेश राईको हेडर बल क्रस बारमा लागेर गोल भएको थियो । तर दोस्रो हाफको २९ औँ मिनेटमा कमल श्रेष्ठले देब्रे बार च्याप्दै गरेको प्रहार गोल भएपछि मनाङ २–१ को स्पष्ट जीत निकाल्दै सेमीफाइनलमा पुग्यो ।
खेलमा दुवै टिमले केही राम्रा ‘मुभ’हरू बनाए पनि सदुपयोग गर्न सकेनन् । खेलको पहिलो हाफमा अन्जन बिष्टको प्रहारले पोष्टको दिशा लिन सकेन । १३ औं मिनेटमा सोमिडेको बल राइट बार नजिकैबाट बाहिरियो । ४१ औं मिनेटमा सोमिडेको हेडर बल बारमा लागेर बाहिरिएको थियो ।
दोस्रो हाफमा समेत मनाङले आयोजकमाथि दबाब कायम राख्दै पोष्ट आक्रमण बुनिरह्यो । दोस्रो हाफको ९ औँ मिनेटमा मनाङका खेलाडीको प्रहार गोलरक्षक किशोर गिरीले बचाएका थिए । २५ औं मिनेटमा गोलरक्षक किशोर गिरी बिट भएको अवस्थामा सुजल गोल गर्नबाट चुके ।
६ जना राष्ट्रिय खेलाडी सम्मिलित मनाङविरुद्ध आयोजकले समेत केही राम्रा ‘मुभ’ बनाएको थियो । खेलको ५ औँ मिनेटमा तीर्थ बस्नेतको क्रस बललाई उमेश राईले पोष्टको दिशा दिन सकेनन् ।
२४ औँ मिनेटमा रमेश राजवंशीको प्रहार गोलरक्षक विशाल श्रेष्ठले ‘पञ्च’ गर्दै बाहिर पठाइदिएका थिए । ३७ औं मिनेटमा तीर्थ बस्नेत ‘वान भर्सेस वान’को अवस्थामा गोल गर्नबाट चुके । दोस्रो हाफको १६ औं मिनेटमा काउन्टरमा टङ्क बस्नेतको प्रहारलाई गोलरक्षक विशालले निस्तेज बनाइदिएका थिए ।
खेलको म्यान अफ दी म्याच मनाङ मस्र्याङ्दीका कमल श्रेष्ठ घोषित भए ।
खेलपछि प्रतिक्रिया दिँदै आयोजकका टिम म्यानेजर कोबिदजङ्ग कार्कीले आफ्नो टिमले राम्रो खेल्दाखेल्दै पनि पराजित भएको बताए । उनले ए डिभिजन क्लबका २ जना खेलाडीलाई प्रतियोगिताको लागि कलअप गरिएको भए पनि रिलिज नपाउँदा भनेजस्तो खेल नभएको बताए ।
लिग विजेता टोलीसँगको खेलको नतिजाबाट सन्तुष्ट रहेको उनले प्रतिक्रिया दिए । मनाङका प्रशिक्षक फुजा टोपेले टिमको तालमेलका कारणले घरेलु टोलीविरुद्ध जीत निस्किएको बताए । ‘नेपाली राष्ट्रिय टोलीका ६ जना खेलाडी हाम्रो टिममा छन् । उनीहरूको अपासी तालमेलका कारण जीत निकाल्न सक्यो’, उनले भने, ‘तर अपेक्षा गरिएजस्तो चाहिँ भएन ।’
खेलमैदानका कारण सोचेअनुरूप खेल्न नसकिएको बताउँदै टोपेले भने, ‘हामीसँग उच्च स्तरका खेलाडी छन् तर मैदानको कठिनाइले खेल्न असहज भयो ।’ घरेलु टिम विरुद्ध पहिलो हाफमा अपेक्षाअनुरूपको खेल नभए पनि दोस्रो हाफको प्रदर्शनले जीत निस्किएको उनले बताए । आयोजक यसअघि गत संस्करणमा समेत क्वारटफाइनलबाटै बाहिरिएको थियो ।
मनाङ यसअघि शहीद स्मारक लिग र भारतको सिक्किममा सम्पन्न ३८ औँ गभर्नर्स गोल्डकपको विजेता टिमसमेत हो । मदन भण्डारी गोल्डकपमा लगातार सहभागी भएको मनाङ अघिल्लो संस्करणमा थ्री स्टारसँग १–० ले पराजित बनेको थियो ।
प्रतियोगिता अन्तर्गत भोलि तेस्रो क्वाटरफाइनल खेलमा विभागीय टिम त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन थ्री स्टार आमनेसामने हुँदैछन् । यी दुई टोली यसअघि गत संस्करणमा भिडेका थिए । जसमा टाइब्रेकरमा आर्मी ५–३ ले पराजित बनेको थियो ।