इटहरीः भरत खवास नेपाली राष्ट्रिय टिमका भरपर्दा स्ट्राइकर हुन् । उनले विभागीय टिम त्रिभुवन आर्मीलाई लामो समयदेखि नेतृत्व मात्र गरेका छैनन्, नेपाली राष्ट्रिय टिममा विराज महर्जनको अनुपस्थितिमा कप्तानी समेत सम्हालिरहेका छन् ।
सन् २०१४ को विश्वकप छनोटको समयमा बलियो टिम जोर्र्डनसँग उसको घरेलु मैदानमा ९–० ले पराजित बनेको नेपाली टिमले आफ्नो घरेलु मैदानमा बराबरी खेल्दा उनको भूमिका महत्वपुर्ण थियो । खेलमा उनले गरेको गोलले नेपाल ‘होम ग्राउण्ड’मा १–१ गोलको बराबरी गर्न सफल भएको थियो । त्यसपछि भरत नेपाली फुटबलमा सबैको चर्चाको पात्र बने ।
मोरङको साबिक हरैंचा (हाल सुन्दरहरैंचा–१) को साधारण परिवारमा बुबा रविलाल र आमा बुधनीदेवीको कोखबाट २७ वर्ष अघि जन्मेका खवास घाँस काट्न जाँदाको समय बचाएर मोजाको गोल बनाएर खेल्ने गर्थे । सानैदेखि फुटबल भनेपछि हुरुक्कै हुने भरत घर नजिकै रहेको श्री जनता माविमा अध्ययन गर्दा टिफिनको समयमका मोजाको गोल लिएर खेलमैदानमा पुगेपछि कक्षामा फर्कनै बिर्सन्थे ।
आफू फुटबल खेलमा लाग्नमा बुबाको प्रेरणा भएको भरत सुनाउँछन् ‘म सानो हुँदा हरैंचामा फुटबलबाहेक अरु खेल खेलिँदैन थियो । मेरो बुबालाई पनि फुटबलमा रुचि थियो । त्यो मेरो लागि प्रेरणा बन्न पुग्यो र परिवारबाट पनि सधैँ समर्थन पाएँ’, उनले भने ।
एन्फा प्रवेश
सन् २००० मा कक्षा ५ मा पढ्दै गर्दा एन्फा एकेडेमीले १० वर्ष मुनिका खेलाडी छनोट गर्ने खबर सुनेपछि उनका बुबाले भरतलाई पनि विराटनगर लिएर गए । एन्फा छनोटमा सहभागी हुन जाँदाको क्षण भरत सम्झन्छन् ‘मलाई गाडी चढ्न मन नलाग्ने भएकाले बुबाले दिनको डेढ घण्टा लगाएर सात दिनसम्म साइकलमा विराटनगर लानुभएको थियो ।’
एन्फाले देशभरिका ८ हजार जनाबाट ७८ जनाको छनोट गर्याे, त्यसमा भरतको पनि नाम अटेको थियो । एन्फामा छनोट भएपछि छनोट भएका खेलाडीलाई २६ जनाको दरले ३ समूहमा विभाजन गरेर काठमाडौँ, पोखरा र धरानमा रहेका एन्फाका एकेडेमीमा एन्फाले ट्रेनिङ गराउँथ्यो । उनी भने पोखरामा परेका थिए त्यो बेला । अहिलेका राष्ट्रिय टिमका कप्तान विराज महर्जन, रोहित चन्द पनि उनीसँगै पोखराको क्याम्पमा थिए ।
पहिलो करियर उपाधी
एन्फामा रहँदै उनले यु–१० देखि खेल्न शुरु गरे । उनको करियरको पहिलो उपाधी सुब्रोतो कप थियो । ‘हामीले सन् २००४ मा भारतको प्रतिष्ठित यु–१४ सुब्रतो कप जितेका थियौँ । त्यो मेरो करियरको पहिलो उपाधी पनि हो । त्यो उपाधी जितेर म घर जाँदा ठूलो स्वागत भएको थियो र सबै जना निकै खुशी हुनुभएको थियो,’ सुब्रोतो जितेको क्षण सम्झँदै भरत भन्छन्, ‘त्यसपछि मलाई खेलेर नै भविष्य बनाउन सक्छु भन्ने महसुस भएको थियो ।’
यु– १६, यु– १९ हुँदै उनले सन् २०१२ मा यु–२२ नेपाली राष्ट्रिय टिमको कप्तानी समेत सम्हाले । भरतले आफ्नो डेब्यु खेलमा नै गोल गरेका थिए । २५ मार्च २००८ मा पोखरामा भएको पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा प्रदीप महर्जनको स्थानमा सब्टिच्युट खेलाडीको रूपमा भरत प्रवेश गर्दै राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए । नेपाल १–० ले पछि परेको बेला भरतले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । सो खेलमा नेपाल २–१ ले विजयी भएको थियो ।
भरतले हालसम्म नेपाली टोलीबाट ५० क्याप पूरा गर्दै १० वटा अन्तर्राष्ट्रिय गोल समेत गरेका छन् । उनले सन् २०१३÷१४ को एएफसी च्यालेन्ज कपमा नर्दन मारियाना विरुद्ध ह्याट्रिकसमेत गरेका थिए । विश्वकप छनोटमा जोर्डनसँग अवे खेलमा ९–० ले हारेको नेपाललाई होम खेलमा ७९ औँ मिनेटमा १८ यार्डको दूरीबाट गोल गर्दै १÷१ को बराबरीमा खेल पु¥याउनसमेत उनी सफल भएका थिए ।
नेपालले २०१६ मा एफसी सोलाडिरिटी कप जित्दा समेत भरत खवास नेपालका स्ट्राइकर थिए । अहिले पनि भरत खवास नेपाली राष्ट्रिय टिमका पहिलो रोजाइका खेलाडी हुन् । भरतले अघिल्लो मार्चमा फिलिपिन्सविरुद्ध नेपालको कप्तानीसमेत सम्हालिसकेका छन् । अहिले उनी नेपाली टोलीका कप्तान प्यानलका सदस्य पनि हुन् ।
क्लब यात्राः
एन्फामा रहँदा नै उनी सन् २००८ मा सङ्कटा क्लबसँग आवद्ध भएर एक सिजन शहीद स्मारक लिग खेले । फेरि अर्को सिजनमा फ्रेन्ड्स क्लबबाट लिग खेले । त्यो समय फ्रेन्ड्स क्लब ए डिभिजनको क्लब थियो । एक सिजन फ्रेन्ड्सबाट खेलेपछि भरत नेपाल पुलिस क्लबको नजरमा परे । उनलाई पुलिसले आबद्ध गरायो ।
२०६७ सालको शहीद स्मारक लिगमा उनी आबद्ध नेपाल पुलिस पहिलो भएको थियो । सो लिगमा भरतले १६ गोल गरेका थिए । तर उनीभन्दा १ गोल बढी गरेका थ्री स्टारका सन्तोष साहुखल सर्वाधिक गोलकर्ता बने । त्यही सिजनमा राष्ट्रिय लिगमा पनि नेपाल पुलिस पहिलो नै भएको थियो । त्यसमा भरतले ४ गोल गरेका थिए ।
२०६७ को राष्ट्रिय लिगमा भरतले बेष्ट फरवार्ड बन्दै बाइक पाएका थिए । उनी २०६९ सालमा भएको ३९ औ शहीद स्मारक लिगमा १४ गोल गर्दै बेस्ट फरवार्ड बनेका थिए ।
दुई सिजन पुलिसबाट खेल्दै उनी नेपाली सेनामा अधिकृत तहको परीक्षा लेखिरहेका थिए । २०६९ सालदेखि नेपाली सेनामा आबद्ध भएर उनले आफ्नो खेल जीवनलाई अगाडि बढाइरहेका छन् ।
उनलाई २०७१ सालमा नेपाली सेनाले आफ्नो फुटबल टिमको कप्तान बनाएपछि हालसम्म सोही भूमिका निर्वाह गरिरहेका छन् । भरतको कप्तानीमा २०७३ पछि नेपाली सेनाले एक दर्जन बढी गोल्डकपको उपाधि उचालिसकेको छ ।
खेलबाट टाढा हुन नसक्ने भरतले मानविकीबाट सङ्कायबाट स्नातक उत्तीर्ण गरेका छन् । २००९ मा थाइल्यान्ड जाँदा जण्डिस भएर ९÷१० महिना र २०७०÷०७१ मा आर्मीको अधिकृतको केडेड कोर्ष गर्दाबाहेक खेलबाट अहिलेसम्म आफू बाहिर नरहेको भरत बताउँछन ।
भरतले २०७४ साल बैशाखमा काठमाडौं निवासी सरुमा अवालेसँग ११ वर्ष देखिको प्रेम सम्बन्धलाई विवाह बन्धनमा बदले । उनका सबैभन्दा मन पर्ने खेलाडी चेल्सीका पूर्व खेलाडी एवम् आइभरी कोष्टका स्ट्राइकर डिडियर ड्रोग्बा हुन् ।