इटहरीः मदन भण्डारी गोल्ड कपमा आज विभागीय टिम त्रिभुवन आर्मी र डिफेन्डिङ च्याम्पियन थ्री स्टार आमनेसामने हुँदैछन् ।
२ दिनअघि सिमरा गोल्डकपको उपाधीको लागि भिडेका यी २ टोलीमा मुख्य स्टार खेलाडी भने देखा पर्ने छैनन् । थ्री स्टारका स्ट्राइकर अजायी मार्टिन्सले इन्जुरीका कारण सहभागी नहुने बताएका छन् ।
यता, राष्ट्रिय लिगको आफ्नो अन्तिम खेल र पुरस्कार वितरण समारोहमा अनुपस्थित भएको भन्दै थ्री स्टार क्लबले मार्टिन्स र डिफेन्डर पिटर सेगुनलाई आगामी सिजनमा नेपालमा हुने कुनै पनि प्रतियोगितामा सहभागिता जनाउन नपाउने गरी एन्फालाई कारवाही सिफारिश गरेको प्रवक्ता किरण राईले बताए ।
यता, विष्णु सुनुवार र पूर्व कप्तान निराजन खड्कासमेत थ्री स्टारको टिममा छैनन् । थ्री स्टारमा सेगुनको स्थान एडोमा डोम्बलाले लिएका छन् । डोम्बला १० औँ सिमरा गोल्डकपका उत्कृष्ट डिफेन्स समेत हुन् । निराजनले जारी मदन भण्डारी गोल्डकपमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र विष्णु सुनुवारले राष्ट्रिय जागृति क्लबबाट प्रतियोगितामा सहभागिता जनाएका छन् ।
यता, आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ र दिनेश हेमजन घाइते भएकाले प्रतियोगितामा सहभागिता जनाउने छैनन् । नवयुग आफ्नो गृहनगर देउमाई नगरपालिकाको मङ्गलबारेमा ‘बेड रेस्ट’मा रहेका छन् । अघिल्लो संस्करणको मदन भण्डारी गोल्डकपमा समेत थ्री स्टार हाबी भएको देखिन्छ । सेमीफाइनलमा आर्मीलाई सडन डेथमा ५–३ ले हराउँदै थ्री स्टारले मनाङसँगको फाइनल भेट पक्का गरेको थियो ।
आर्मी गत माघ ५ गते विशाल मेमोरियल गोल्डकपको उपाधी जितेर फर्ममा रहँदा थ्री स्टारले सिमराको उपाधीमा ह्याट्रिक गर्ने आर्मीको सपना समाप्त पार्दै विजेता भएको थियो ।
आर्मी छैटौं र नवौं संस्करणको सिमराको विजेतासमेत हो । नवौँ संस्करणको फाइनल खेलमा आर्मीसँग थ्री स्टार २–० ले पराजित बनेको थियो । शहीद स्मारक लिगमा समेत थ्री स्टार र आर्मीले १–१ गोलको बराबरी खेलेका थिए । लिगमा थ्री स्टार तेस्रो स्थानमा रहँदा आर्मी चौथो भएको थियो ।
ए डिभिजन लिगपछि आर्मी र थ्री स्टारले मोफसलको तेस्रो प्रतियोगिता खेल्दैछन् । सिमरा गोल्डकपअघि आर्मी विशाल मेमोरियल र थ्री स्टार खप्तड गोल्डकपमा सहभागी भएका थिए । आर्मीले विशाल मेमोरियलको उपाधि रक्षा गर्दा थ्री स्टार भने नेपाल पुलिस क्लबसँग उपाधी भीडन्तमा पराजित भएको थियो ।