धरानः यही माघ २६ गतेदेखि धरान १६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणका लागि प्रचारप्रसार गर्न आयोजित प्रमोसन कप फुटबलमा नेपाल पत्रकार महासङ्घ विजयी भएको छ ।
इन्द्र वराह ज्वेलरीको टिमलाई ४–१ गोलको अन्तरले पराजित गर्दै पत्रकार महासङ्घको टिम विजयी भएको हो । निर्धारित समयमा दुवै पक्षबाट कुनै पनि गोल गर्न नसकेपछि भएको टाइब्रेकरमा पत्रकार महासङ्घले ४ गोल गरेको हो ।
धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा विजयी टिमको तर्फबाट टिम क्याप्टेन विकास चाम्लिङसहित किशोर राई, बुद्रोस लिम्बू र रामकृष्ण खड्काले गोल गरेका थिए । वराहको तर्फबाट सान्त्वना गोल प्रविन बिकले गरेका थिए ।
खेलको म्यान अफ दी म्याच पत्रकारका गोलकिपर बिकी श्रेष्ठ घोषित भए । उनलाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष एवम् धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले नगदसहित मेडल प्रदान गरेका थिए ।
प्रमोसन कपमा आयोजक धरान फुटबल क्लबसहित धरानका विभिन्न सङ्घसंस्थाका ८ टिम सहभागी रहेका छन् ।