इटहरीः गोलरक्षक विकेश कुथूले ३ वटा पेनाल्टी प्रहार बचाएपछि विभागीय टिम त्रिभुवन आर्मी चिरप्रतिद्वन्द्वी थ्री स्टारलाई हराउँदै इटहरीमा जारी मदन भण्डारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ ।
निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा कुथूले रञ्जित धिमाल, रुपेश केसी र बुद्धराज चेम्जोङको प्रहारलाई बचाएका थिए । कप्तान विक्रम लामाको प्रहारमात्र गोलमा परिणत भएको थियो ।
आर्मीका तर्फबाट कप्तान भरत खवास, विवेक बस्नेत र सन्तोष तामाङको प्रहार गोलमा परिणत भएको थियो । दीप लामाको प्रहार बारमा लागेर बाहिरिएको थियो भने पदम तामाङले पोष्टभन्दा माथि प्रहार गरेका थिए । जीतमा नायकत्व भूमिका खेलेका गोलरक्षक कुथू म्यान अफ दी म्याच घोषित हँुदै नगद १० हजार प्राप्त गरे ।
खेलमा शुरुवाती अग्रता आर्मीले लिएको थियो । खेलको ५८ आंै मिनेटमा पाएको क्रसलाई हेडरमार्फत् सदुपयोग गर्दै कप्तान भरत खवासले आफ्नो टिमलाई अग्रता दिलाएका थिए । आर्मीको अग्रता लामो समयसम्म टिकेन । ७१ औं मिनेटमा सुनिल राईको स्थानमा मैदान प्रवेश गरेका बुद्धराज चेम्जोङको क्रसलाई फ्लिक गराउँदै अनन्त तामाङले खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा गएको थियो ।
खेलको पहिलो हाफमा पोष्ट आक्रमण बुन्न असफल बनेका दुवै टोलीले दोस्रो हाफमा भने लगातार प्रयास गरेका थिए । खेलको ७ औं मिनेटमा कप्तान भरत वान भर्सेस वानको अवस्थामा गोल गर्नबाट चुके । १६ औं मिनेटमा भरतको फितलो प्रहार गोलरक्षक एलन न्यौपानेले नियन्त्रणमा लिए ।
३७ औं मिनेटमा अनन्त तामाङलाई टयाकल गरेपछि आर्मीका सुमन अर्यालले पहेँलो कार्ड पाएका थिए । ५१ औं मिनेटमा टंक बस्नेतको प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ६५ औं मिनेटमा भरत खवासको हेडर क्रसबललाई गोलरक्षक एलनले उत्कृष्ट नियन्त्रणमा लिएका थिए । ८६ औं मिनेटमा विवेक बस्नेतले दिएको क्रसलाई भरत खवासले गरेको हेडर प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो ।
थ्री स्टारले समेत केही राम्रा अवसर सदुपयोग गर्न नसक्दा लगातार सेमीफाइनल पुग्ने अवसर गुमाएको छ । खेलको २० औं मिनेटमा रञ्जित धिमालको प्रहार पोष्ट नजिकैबाट बाहिरिएको थियो । ३२ औं मिनेटमा सुनिल बलको क्रसमा अनन्त तामाङको हेडर बल बाहिरिएको थियो ।
५० औं मिनेटमा रञ्जितको प्रहार गोलरक्षक नजिकैबाट बाहिरिएको थियो । ६९ औं मिनेटमा सुनिल बलको फ्रिकिक प्रहार पोष्टमाथिबाट बाहिरिएको थियो । ७५ औँ मिनेटमा रञ्जन विष्टले वान भर्सेस वानको अवस्थामा गरेको प्रहारलाई गोलरक्षक विकेशले पञ्च गर्दै बचाउ गरेका थिए । ८३ औ मिनेटमा रुपेश केसीको प्रहारलाई विकेशले बचाएका थिए ।
यसअघि गत संस्करणको सेमीफाइनल खेलमा आर्मीलाई हराउँदै थ्री स्टार फाइनल प्रवेश गरेको थियो । ३ दिन अघि सम्पन्न १० औ सिमरा गोल्डकपको उपाधी ह्याट्रिकमा आर्मीका लागि थ्री स्टार बाधक बनेको थियो ।
खेलपछि प्रतिक्रिया दिँदै दुवै टिमबाट प्रशिक्षकले लगातारका प्रतियोगितका कारण अपेक्षाकृत खेल नभएको बताए । थ्री स्टारका प्रशिक्षक उज्ज्वल महर्जनले एक रातमात्र भएको आरामका कारण खेलाडीको प्रदर्शनमा असर परेको बताए । उनले पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा आर्मीसँग आफ्नो टिम पराजित बनेको बताए ।
‘निराजन खड्का र विष्णु सुनुवारलाई टिमबाट अध्ययन गरेर नै फुकुवा गरिएको त्यो निर्णयले टिममा कुनै असर छैन,’ उनले भने, ‘टिमको मर्यादाविपरीत काम गरेकाले अजायी मार्टिन र पिटर सेगुनलाई कारवाहीको लागि सिफारिश गरिएको हो । उनीहरू नहुँदा टिम कमजोर पक्कै होइन तर किन कारवाही सिफारिश भयो त्यसको कारण खोज्नुपर्छ ।’
यता, आर्मीका प्रशिक्षक नवीन न्यौपानेले पहिलो हाफमा गोलका अवसर नपाए पनि दोस्रो हाफमा पाएको अवसरका कारण जीत हासिल गरेको बताए । ‘दोस्रो हाफमा रक्षात्मक खेलेर काउन्टर एटेक गर्ने लक्ष्य थियो । तर डिफेन्सको सानो गल्तीले खेल टाइब्रेकरसम्म पुग्यो,’ उनले भने ।
लगातारका प्रतियोगिताका साथै अधिकांश खेलाडी घाइते भएकाले खेल अपेक्षाकृत नभएको उनले प्रतिक्रिया दिए । आर्मी फाइनल प्रवेशका लागि मेची नेत्रालय केएफटिसीसँग १६ गते भिड्दैछ ।