इटहरीः दोस्रो संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको क्वाटरफाइनलको अन्तिम खेललाई पाहुना टोलीको इतिहास बदल्ने अवसरको रूपमा हेरिएको छ ।

पाहुना टोली भुटानको सीएफसी (क्लियरिङ फुटबल क्लब) ले विभागीय टिम नेपाल पुलिस क्लबसँग खेल्दैछ । यसअघि पूर्वका विभिन्न गोल्डकप प्रतियोगितामा सहभागिता जनाएको सीएफसी र पुलिसबीच विराटनगरमा २०७१ सालमा सम्पन्न भएको पहिलो गणेशमान सिंह गोल्डकपमा भेट भएको थियो । जसमा पुलिस ५–० को फराकिलो जीत निकाल्न सफल भएको थियो ।

यस्ता थिए सीएफसीका अघिल्ला प्रतियोगिताको अङ्कगणित
मनकामना केबलकार कप, बुढासुब्बा गोल्डकप लगायतका प्रतियोगिताको अनुभव बटुलेका दुवै टोलीबीचको खेललाई प्रतिष्ठाको लडाइँको रूपमा हेरिएको छ । भर्खरै खप्तड गोल्डकपमा बलियो प्रतिद्वन्द्वी रुस्लान थ्री स्टारलाई हराएर उपाधी चुमेको पुलिस आफ्नो पुरानो साख कायम राख्नका लागि युवा खेलाडी सहित मैदान उत्रँदै गर्दा पाहुना टोली इतिहास बदल्न आतुर देखिन्छ ।

चौथो मनकामना केबलकार कपमा पाहुना टिम सीएफसी घरेलु टिम पोखरासँग ३–० ले हारेको थियो । १४ औं, १५ औं र १८ औं बुढासुब्बा गोल्डकपमा समेत सहभागी भएको टिमले हालसम्म कुनै पनि खेलमा जीत निकाल्न सकेको छैन । ऊ ३ संस्करणको प्रतियोगितामा १३ गोल खाँदै २ गोल मात्र फर्काउन सफल भएको छ ।

१४ औं संस्करणमा विभागीय टिम आर्मीसँग ३–१ ले हारेको सीएफसी १५ औ संस्करणमा आयोजकसँग २–१ ले हारेको थियो । १८ औं बुढासुब्बामा मनाङले सीएफसीलाई ८–० ले हराएको थियो ।

सीएफसीको बारेमा जानकार छैनांैः पुलिस प्रशिक्षक थापा
इटहरी खेल मैदानमा भेटिएका पुलिसका प्रशिक्षक अनन्त थापाले विपक्षी टिमको अवस्थाको विषयमा जानकार नभएकाले कुन रणनीति अपनाउने भन्ने निक्र्याेल नभएको बताए ।

‘भुटान टिम भन्ने छ कुन टिम हो भन्ने पनि थाहा छैन,’ उनले भने, ‘त्यसैले खेलको समयमा नै रणनीति बनाउने छौँ ।’ पुलिस टिम युवा खेलाडी सम्मिलित भएकाले जीत निकाल्न कठिन नहुने उनको प्रतिक्रिया थियो । तर विपक्षी टिमलाई कमजोर आँकलन भने नगरिएको थापाको भनाइ छ ।