इनरुवाः सुनसरीको कोशी गाउँपालिकामा बीपी कोइराला स्मृति राष्ट्रिय कुस्ती प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
कोशी कटानमा सम्पन्न सो प्रतियोगितामा पुरुषतर्फ विभिन्न उमेरसमूहमा भागवत शाह, वृजेश यादव, सञ्जय तिवारी, श्रवणकुमार ठठेर, रामचन्द्र यादव, रमेश चन्द र समिरकुमार साह पहिलो भए ।
त्यस्तै, विभिन्न उमेर समूहमा महिलातर्फ मनिषा सिंह, सङ्गीता धामी, सुशीला चन्द, लक्ष्मी खत्री र शान्ति चौधरी प्रथम भए । विजेता तथा उपविजेतालाई प्रदेश नंं १ का प्रमुख प्रतिपक्षी दलका नेता राजीव कोइराला, गाउँपालिका अध्यक्ष ऐयुब अन्सारी र इनरुवाका नगर प्रमुख राजन मेहताले पुरस्कार वितरण गरेका थिए ।
गण्डकी प्रदेशबाहेकका ६ प्रदेश, नेपाल प्रहरी, नेपाली सेना र आयोजक कोशी गाउँपालिकाको प्रतियोगितामा सहभागिता थियो ।