धरानः चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा रेडबुल गोल्डकपको प्रमोसनका लागि खेलाइएको प्रमोसन कपमा मङ्गलबार व्यापारीको टिम सुनसरी उद्योग वाणिज्य सङ्घले वाक ओभर दिएपछि धरान उपमहानगरपालिकाको टिम सेमीफाइनलमा प्रवेश गरेको छ ।

खेलका लागि उपमहानगरपालिकाको तर्फबाट क्याप्टेन गोविन्द राईसहित विनोद थापामागर, राजीव पराजुली, सुदेश चापागाई, टीका माङलेन, वडा नम्बर ६ का वडाध्यक्ष भुवनसिंह बस्नेत, वडा नम्बर १७ का वडाध्यक्ष मनोज भट्टराई सहभागी थिए ।

त्यस्तै, कर्मचारी खगेन्द्र खतिवडा, सुमन बराइली, पदम भुजेल, सुयोग पाख्रिन, देवाहाङ राई, घनश्याम भुषाल, प्रबिन भट्टराई र अर्जुन गिरी मैदानमा गएका थिए ।

माघ २६ गतेदेखि धरान–१६ स्थित प्रस्तावित प्रादेशिक रङ्गशालामा हुने बुढासुब्बा रेडबुल गोल्डकपको २१ औं संस्करणका लागि प्रचारप्रसार गर्न आयोजक धरान फुटबल क्लबले प्रमोसन कपको आयोजना गरेको हो ।

सोमबार पत्रकार महासङ्घ र इन्द्र वराहको टिमबीच भएको खेलमा पत्रकार महासङ्घले जीत हासिल गरेको थियो । बुधबार पत्रकार महासङ्घ र धरानका संस्थागत विद्यालयको टिमबीच खेल हुनेछ ।

प्रमोसन कपको विजेतालाई ३० हजार नगद पुरस्कार
आयोजक धरान फुटबल क्लबले बुढासुब्बा रेडबुल गोल्डकपको प्रमोसन गर्न ३ वर्षअघिदेखि प्रमोसन कप आयोजना गर्न थालेको हो ।

गत वर्ष नेपाल पत्रकार महासङ्घले प्रमोसन कप जितेको थियो । आयोजक धरान फुटबल क्लबका अनुसार प्रमोसन कपका विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी र उपाविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

त्यसैगरी, खेलाडी पुरस्कारतर्फ मष्ट भ्यालुएबल प्लयेरलाई नगद ५ हजार रुपैयाँसहित ट्रफी दिइनेछ । सर्वाधिक गोलकर्ताले नगद ३ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

त्यसैगरी, बेष्ट मिडफिल्डर, बेष्ट डिफेन्स, बेष्ट फरवार्ड, बेष्ट गोलकिपर र बेष्ट कोचलाई पनि पुरस्कृत गरिनेछ । उनीहरूलाई जनही नगद २ हजारसहित ट्रफी दिइने धरान फुटबल क्लबका महासचिव तथा २१ औ संस्करणका प्रचारप्रसार संयोजक प्रताप तामाङले जानकारी दिए ।