काठमाडौंः यही माघ २५ देखि धनगढीमा हुने धनगढी प्रिमियर लिग (डीपीएल) प्रतियोगिताका लागि विराटनगर किङ्ग्सले २ जना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।

क्लबका अनुसार भारतका अविनाश यादव र शिवकान्त शुक्लालाई क्लबमा अनुबन्ध गरिएको छ । दुवैले भारतको प्रतिष्ठित रञ्जी ट्रफी प्रतियोगिता खेलिसकेका छन् । अविनाश देब्रे हाते स्पिनर हुन् भने शिवकान्त शुक्ला देब्रे हाते ब्याट्सम्यान हुन् । अविनाशले २५ प्रथम श्रेणी क्रिकेटमा ७६ विकेट लिइसकेका छन् । यस्तै ३३ वर्षीय शिवकान्तले ८५ प्रथम श्रेणी क्रिकेटमा ४ हजार १ सय ९८ रन बनाएका छन् ।

विराटनगरको रणनीतिक खेलाडीका रूपमा करण केसी रहेका छन् । टोलीका अन्य खेलाडीमा आरिफ शेख, कुशल भुर्तेल, पृथु बाँस्कोटा, किशोर महतो, सुशन भारी रहेका छन् । त्यस्तै, हरिशङ्कर शाह, संसाद शेख, राजेश पुलामी, अर्जुन अधिकारी, अमित गुरुङ, तृतराज दास र सुवास ऐर पनि टोलीमा सहभागी छन् । देशकै सर्वाधिक पुरस्कार राशिको डीपीएलमा धनगढी स्टार्स, सिवाइसी अत्तरिया, रुपन्देही च्यालेञ्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन र विराटनगर किङ्ग्सले प्रतिस्पर्धा गर्नेछन् ।