इटहरीः मदन भण्डारी गोल्डकप स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकपको पहिलो सेमीफाइनलमा विभागीय टिम त्रिभुवन आर्मी र मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर पहिलो पटक भिड्दैछन् ।

काँकडभिट्टामै भएको तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकपमा दुवै टिम सेमीफाइनलमा पुगे पनि आमनेसामने भने भएनन् । सो प्रतियोगितामा आर्मीले अर्को विभागीय टिम नेपाल पुलिसलाई ३–० ले हराएर फाइनलमा पुग्दा मनाङले आयोजक टिमलाई सडन डेथमा हराउँदै फाइनलमा पुगेको थियो ।

दुवै टिम यसअघि आमनेसामने नभए पनि खेलाडीको बारेमा परिचित भएको बताएका छन् । आर्मीका कप्तान भरत खवासले मेची नेत्रालयसँग प्रतिस्पर्धा नभए पनि सो क्लबमा आबद्ध खेलाडीहरूसँग भने अन्य क्लबबाट सहभागी प्रतियोगितामा खेलेको बताए । उनले विपक्षी टिममा स्तरीय खेलाडी भएकाले कमजोर आँकलन नगरेको बताए ।

ad khel

यता, खेलाडीको घाइतेका कारण टिममा केही समस्या देखिएको मेची नेत्रालयका प्रशिक्षक मीन बस्नेतले बताए । उनले भने, ‘हामीलाई खेलाडीको इन्जुरी मुख्य समस्या हो । क्यामरुनविरुद्धको खेलमा निरज बस्नेत र फरवार्ड राजेश परियार घाइते छन् । त्यसको असर आर्मीविरुद्ध पक्कै पर्छ । तर रिजर्भमा रहेका खेलाडीले खेल जिताउनेमा आशावादी छौँ ।’

मेची नेत्रालयको रूपमा आर्मीसँग प्रतिस्पर्धा नभए पनि नाइट चेस क्लबबाट भने आहा रारा गोल्डकपमा ३–० ले जितेको बस्नेतले बताए ।

यता, आर्मीलाई पनि खेलाडी इन्जुरी मुख्य समस्या देखिन्छ । १८ दिनमा ३ वटा प्रतियोगितामा सहभागिता जनाएका आर्मीका खेलाडीमा समेत समस्या देखिन शुरु गरेको छ । आर्मीका खेलाडीले समेत इन्जुरीका कारण अपेक्षाकृत खेल दिन नसकेको बताउँदै आएका छन् ।

इन्जुरीका कारण यस सिजनको हालसम्मको प्रतियोगितामा भरपर्दा खेलाडी नवयुग श्रेष्ठ र दिनेश हेन्जनले सहभागिता जनाउन सकेका छैनन् । अर्का नियमित खेलाडी जितेन्द्र कार्की थ्री स्टार विरुद्धको खेलमा बेन्चमा नै थिए । टिमका अर्का भरपर्दा स्ट्राइकर जर्ज प्रिन्स कार्की आर्मी कोर्षका कारण अहिले टिममा छैनन् । 

सेमी पुग्न दुवै टिमका लागि गोलरक्षक नायक
दुवै टिमलाई सेमीफाइनल पु¥याउन गोलरक्षक नायक बनेका थिए । गोलरक्षक दीप कार्कीले २ वटा पेनाल्टी सुटआउट बचाउँदा पाहुना टोली क्यामरुनको डाफिन्स क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै मेची नेत्रालयले सेमीफाइनलमा स्थान सुरक्षित बनाएको थियो ।

राष्ट्रिय टोलीका दोस्रो रोजाइका गोलरक्षक विकेश कुथूले ३ वटा पेनाल्टी प्रहार बचाएपछि चिरप्रतिद्वन्द्वी रुस्लान थ्री स्टारलाई हराउँदै आर्मीसमेत सेमीफाइनल पुगेको हो । यसअघि १० औँ संस्करणको सिमरा गोल्डकपको उपाधी भीडन्तमा आर्मी टाइब्रेकरमा पराजित बन्दै उपविजेता बनेको थियो ।