धरान: धरानमा जारी बुढासुब्बा रेडबुल गोल्डकपको प्रमोसन कपमा नेपाल पत्रकार महासङ्घको टोली फाइनल प्रवेश गरेको छ ।
बुधबार निजी विद्यालय सञ्चालकको संस्था एसीसी धरानलाई फराकिलो गोलअन्तरले पराजित गर्दै पत्रकार महासङ्घको टोली फाइनल प्रवेश गरेको हो । धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको खेलमा महासङ्घ ६–० ले विजयी भएको हो ।
खेलमा धिरेन लिम्बूले ४ गोल गरेका थिए भने सनम लिम्बू र दिलीप लिम्बूले १–१ गोल गरेका थिए । धरान उपमहानगरपालिका र आयोजक धरान फुटबल क्लबबीच हुने प्रतियोगिताको विजयी टिमसँग पत्रकार महासङ्घले फाइनलमा भिड्ने छ ।
खेलको म्यान अफ दी म्याच घोषित हँुदै ह्याट्रिककर्ता धिरेन लिम्बूले मेडल र नगद ५ सय हात पारे । उनलाई एन्फाका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले पुरस्कार प्रदान गरेका थिए ।