इटहरीः विभागीय टिम त्रिभुवन आर्मी इटहरीमा जारी मदन भण्डारी स्मृति आमन्त्रण अन्तर्राष्ट्रिय गोल्डकपको फाइनल पुग्ने पहिलो टोली बनेको छ । मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरमाथि ४–१ को सहज जीत निकाल्दै आर्मीले कम्तीमा ८ लाख रुपैयाँ सुरक्षित गरेको हो । खेलको सुरुवातबाट नै आर्मीले विपक्षी टिममाथि दबाब कायम राखेको थियो ।
११ औँ मिनेटमा उपहार गोलबाट खाता खोलेको आर्मी त्यसपछि निरन्तर आक्रामक बन्दै गयो । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिक क्लियर गर्न खोज्दा मेची नेत्रालयका ओलो सोलाको हेडर बलले पोष्टको दिशा लिएपछि आर्मीले उपहार गोलबाट खाता खोलेको थियो । त्यसपछि लगातार आर्मीले गोल गरेको थियो ।
पहिलो हाफको इन्जुरी समयमा कप्तान भरत खवासको क्रसमा सन्तोष तामाङले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा सुमन अर्यालको स्थानमा मैदान प्रवेश गरेका विवेक बस्नेतले ५८ आँै मिनेटमा गोलकिपर दीप कार्कीलाई विट गराउँदै आर्मीलाई ३–० को अवस्थामा पु¥याए । त्यसको २ मिनेट नबित्दै आर्मीको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै मेचीका दिपेश श्रेष्ठको क्रसमा कप्तान खमिर गिल्सन कन्दङवाले अग्रता कम पारे ।
आक्रामक बनेको आर्मीले इन्जुरी समयमा ३ वटा पोल एटेम्पपछि अग्रतालाई बढाएर ४–१ बनायो । सुदिल राईको क्रसलाई कप्तान भरतले सदुपयोग गर्दै आर्मीलाई स्पष्ट जीत दिलाएका थिए । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्तोष तामाङ म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।
खेलपछि प्रतिक्रिया दिँदै आर्मीका टिम मेनेजर टेकबहादुर बुढाथोकीले अपेक्षा गरेअनुरूप खेल नभए पनि सन्तोषजनक नतिजा निस्किएको बताए । प्रशिक्षक नवीन न्यौपानेको अभावमा टिमको कम्बिनेसन नमिलेपनि पाएको मौकालाई खेलाडीले सदुपयोग गर्दा जीत निस्किएको उनले बताए ।
यता, काँकडभिट्टाका प्रशिक्षक मीन बस्नेतले शुरुवाती आत्मघाती गोल खानु दुर्भाग्य बनेको बताए । ‘आत्माघाती गोलपछि प्रेसर थाम्न सकेनौँ । मिडफिल्डरले होल्ड गरेर जुन हिसाबले टिमलाई खेलाउनुपर्ने थियो त्यसो हुन नसक्दा हामी प्रेसरमा प¥यौँ,’ उनले भने, ‘मुख्य स्ट्राइकरको इन्जुरीले वैकल्पिक स्ट्राइकरबाट जुन अपेक्षा थियो त्यो हुन सकेन ।’ म्याच रेफ्रीहरूको तालमेल नमिल्दा पनि पराजित हुनुपरेको उनको प्रतिक्रिया थियो ।
‘हाम्रा खेलाडीले अफसाइड ट्रयाप गरेको बललाई अफसाइड दिइएको थियो । आर्मीका कतिपय अफसाइड खासै वास्ता गरेनन्,’ उनले भने ।
प्रतियोगिताको दोस्रो सेमीफाइनलमा बिहीबार विभागीय टिम नेपाल पुलिस र लिग लिडर मनाङ मस्र्याङ्दी भिड्दैछन् ।